• मंसिर १० २०८१, सोमबार

काँग्रेस महामन्त्रीमा कसले मार्ला बाजी ?

मंसिर २८ २०७८, मंगलवार

काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा पाँच नेताबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । तीन युवासहित ६ नेता महामन्त्रीका लागि प्रतिस्पर्धामा छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)देखि सहकार्य गर्दै आएका युवा नेतात्रय विश्वप्रकाश शर्मा, गगनकुमार थापा र प्रदीप पौडेल महामन्त्रीका प्रतिस्पर्धी हुन् । तीन फरक समूहबाट उनीहरू महामन्त्रीको उम्मेदवार बनेका छन् ।

देउवा समूहबाट प्रदीप, शेखरबाट गगन र सिंहबाट विश्व महामन्त्रीको उम्मेदवार बनेका हुन् । उनीहरूसँगै अघिल्ला पुस्ताका तीन डाक्टर प्रकाशशरण महत, मीनेन्द्र रिजाल र राजाराम कार्की पनि महामन्त्रीकै प्रतिस्पर्धामा छन् ।

प्रतिस्पर्धामा रहेका ६ उम्मेदवार मध्य गगन र विश्व महाधिवेशन प्रतिनिधिमाझ लोकप्रिय देखिएका छन् । उनीहरूको तुलनामा प्रदीप केही कमजोर देखिएका छन् । तर, सिटौला हुँदै देउवा समूहमा जोडिएका प्रदीप गुटगत समीकरणका दृष्टिले भने सबैभन्दा बलिया देखिन्छन् ।

प्रदीपसँगै देउवा समूहबाट महत पनि महामन्त्रीको उम्मेदवार बनेका छन् । देउवा समूहभित्र महामन्त्रीको उम्मेदवारका आकांक्षीको असन्तुष्टि मतमा प्रकट भएन भने गगन र विश्वको अवस्था मजबुत रहेको निकटहरूको बुझाइ छ ।

सडकदेखि संसद्सम्म पार्टीदेखि सरकारसम्म आफ्नो भूमिका देखाइसकेका गगनलाई पार्टीको महामन्त्रीमा ल्याउनैपर्ने मत सबैखाले महाधिवेशन प्रतिनिधिमा देखिएको छ । तर,गगनसँग पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला रुष्ट छन् ।

१३औं महाधिवेशनमा सिटौलासँग जोडिएर थापा महामन्त्रीको प्रत्यासी बनेका थिए । स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा आफ्नो कोटाबाट पुगेका गगनले आफूलाई बीचमै छाडेर संस्थापन इतर पक्षमा लागेको भन्दै सिटौलाले चित्त दुखाएका छन् । यो समाचार आजकोनागरिक दैनिकमा छ ।