काठमाडौं । नेपाली कांग्रेसको जारी मतदान राति ९ बजेसम्म हुने भएको छ ।
काठमाडौँमा नयाँ नेतृत्व चयनका लागि जारी महाधिवेशन अन्तर्गत सोमबार दिउँसो साढे ११ बजेबाट मतदान सुरु भएको थियो ।
साँझ ५ बजेसम्म १९९३ मत खसेको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। जम्मा मतदाता ४७४३ जना छन् । उनले राति ९ बजेसम्म मतदान गर्न पाइने तालिका बनाइएको बताए ।
उम्मेदवार पनि धेरै र पद पनि धेरै भएकाले मतपत्रकोसमेत आकार ठूलो छ । जसका कारण मतदानमा निकै ढिलाइ भइरहेको छ । सभापति देउवालाई मतदान गर्न करिब १ घण्टाको समय लागेको थियो ।
एक सभापति, २ उपसभापति, १४ महामन्त्रीसहित १३४ पदको निर्वाचन हुने भए पनि दुईजना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएकाले १३२ पदका लागि साढे ४ सयभन्दा धेरै उम्मेदवार मैदानमा छन् ।
सभापतिमा ५ जना उम्मेदवार रहेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला र कल्याण गुरुङ सभापतिका उम्मेदवार छन् । यस्तै उपसभातिमा ६ जना र महामन्त्रीमा पनि ६ जना उम्मेदवार छन् ।
मतदान सकिए लगत्तै सभापतिको मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।