• असार २५ २०८१, सोमबार

मजगैयाँ वंशावलीमा फेला पर्यो १९०४ मा जंगबहादुर दाङ आएको प्रसंग

मंसिर २७ २०७८, सोमबार

‘लगभग १९०४ तिर श्री ३ जंगबहादुर राणा दाङमा आएका थिए ।’ मजगैयाँ (पोख्रेल) वंशको इतिहास तथा वंशावली पुस्तकको २९औं पृष्ठमा श्रीधर शर्मा मजगैयाँले लेख्नुभएको रहेछ । यस अघि गोविन्द पोख्रेलले आफ्नो पुस्तक ‘मेरो आत्मानुभूति’मा त्यही प्रसंग उल्लेख गर्नुभएको भेटें ।

मलाई जंगबहादुर मनिकापुर शिकारमा आएको प्रसंगले आकर्षित गरेपछि पोख्रेलको पुस्तकका बारेमा पाठकीय प्रतिकृया लेखेको थिएँ । अझ आश्चर्य मानेको उन्मादमा शिर्षकमै ‘जंगबहादुर मनिकापुर आएको पढ्न पाएँ’ लेखेको थिएँ । त्यो प्रकाशन भएको विहान म ओच्छ्यानमै छँदा एकजना विद्धान पाठकको फोन आयो । ‘यस्ता गलत कुरा पनि लेख्ने, अहिलेसम्म विश्वास थियो, अब तपाईंको लेखाईमा पनि विश्वास रहेन भन्नुभयो म खङ्ग्रङै भएँ ।’

केहि समय त मलाई विषय फेला पार्नै अलमल भयो । लेखेर छोड्ने कहिले छापिन्छ, छापिने हो वा होइनको मतलव नराख्ने बानी छ । महिनौ अघि लेखेर छोडेको पुस्तकको पाठक प्रतिकृया रहेछ । त्यो बुझेपछि मैले उहाँलाई जवाफ दिए, ‘म गलत भएन नि लेखेको कुरा पो मैले भनेको छु । यदि गलत छ भने पुस्तक लेखकको कमजोरी हो भनें, उहाँले अझै मान्नुभएन । नबुझेर लेख्नु भएन नी भनेर पेल्न थाल्नुभयो । मलाई जंगबहादुरको प्रसंग नै नौलो थियो, ढुक्क भएर जवाफ कसरी दिनु । हुन्छ, बसेर कुरा गरौंला भन्दै उहाँको फोन कुराबाट विदा भएँ, तर, मानसिक रुपमा भने बल्ल विषयमा प्रवेश गरें, पुस्तक पनि गलत कुरा लेखेर छापिन्छ त ? आफैलाई सोधें ।

उक्त प्रसंगले पछि आदरणीय पाठक एवं शुभचिन्तकले दुविधा उत्पन्न गराउनु भयो । गलत लेख्नुभयो त्यो हुनै सक्दैन भनेर अड्डी कस्नुभयो । कार्यालयमा आएर मैले साहित्यकार र पढाइमा रुची राख्ने भुवन देवकोटालाई सुनाएँ । उहाँले किन नहुनु, हो, त्यो कुरा मजगैँया वंशावलीमा पनि छ भन्नुभयो । सहकर्मी मित्र गोकर्ण पौडेल मार्फत् मगाएर यो पुस्तक हेर्न पाएँ । उहाँलाई पनि सबै वृत्तान्त सुनाएको हुनाले चासो दिनुभए छ र रातो कलमले चिन्ह लगाईदिनु भएको थियो । अन्त कतै नहेरीकन सरासर पौडेलले टिक लगाएको शिर्षकको विषय पढ्न शुरु गरें ।

‘म मजगैयाँको सारा घर हेर्दछु भन्ने विचार गरी सो अनुसार घरभित्र गइ बुइँगलसम्म पुगे । तामाका ठूला ठूला करुवामा राखेका तेल, घिउ, मह, खुदो, बेसारमा पालैपालो हात चोप्दै अर्को भाँडामा हात हाल्दै अब त सबै हेरी सकियो भन्दै तल ओर्ले ।’ यति कुरा वंशावलीको ३० पृष्ठमा लेखिएको छ । यति पढिसकेपछि जंगबहादुर दाङको मनिकापुरमा शिकार खेल्न आएकोमा विमती रहेन । यो टिप्पणी पढ्न पाउनुभयो वा पुस्तकै हेर्नुभयो भने ती पाठकपनि पक्कै विश्वस्त हुनुहुनेछ । पुर्वप्रधानमन्त्री जंगबहादुर राणा दाङ आएका होइनन् कहिल्यै भन्नुहुने छैन ।

यसमा ऐतिहासीक महत्वको अर्को प्रसंग पनि फेला पारें । चन्द्रलालकी पतिव्रता पत्नी नैनेश्वरा सति गएको त्यो प्रसंग पढ्दा निकै भावुक भएँ । चन्द्रशमशेरले विं स.१९२० सालमा कानूनी रुपले नेपालमा सति प्रथालाई अन्त गरेपनि नैनेश्वरा १९५७ सालमा सती जानुभएको रहेछ । यो नै सति गएको अन्तिम घटना होला भनेर लेखिएको छ । यसको अर्थ दाङमा सति जान छोडिसकेका थिए । ‘कति मानिस पैसा राखेर सतिदेवीको अन्तिम दर्शन भन्दै शोकाकुल भइ आँशुका धारा बगाउँदै दर्शन गर्थे भने कति सति जाने मानिसको थुकयुक्त जन्तर लगाएमा सबै रोग जान्छन् भन्ने बलियो धार्मिक धारणा बनाउँदै बज्यै मलाई थुकी दिनुस् भन्थे ।’ यसरी सति जानेबेलाका जीवन्त भोगाई लेख्नुभएको छ । यस्तो लेखाई पहिलोपटक पढ्न पाएँ ।

अरुको वंशावली पढेर के पाउनु भनेर त्यति जाँगर भने अझै चलेको थिएन । मेरो अनुमानलाई फेल खुवाउँदै धेरै नौला कुराहरु वंशावलीमा भेटाएँ । एउटा जात मात्रै होइन त्यस बेलाको परिवेश पनि वंशावलीमा लेखिएको छ । त्यसकारण यो पुस्तक निकै महत्वको छ । दाङको जिल्ला सदरमुकाम २००७ सालसम्म बिजौरीमा रहेको भन्ने पनि यसै पुस्तक पढेपछि थाह पाएँ । मानपुरमा ठूलो बजार थियो, कोइलाबास जस्तै खण्डहर बन्यो भन्ने मात्रै पढेको र सुनेको थिएँ । सदरमुकाम घोराही सार्नेबेलामा विभिन्न घात प्रतिघात भए । पछि सदरमुकाम घोराही सर्यो । त्यसपछि अब एउटा औषधालय भएपनि माग गरौं भन्ने सल्लाह भएको रहेछ । पछि माननीय एकराज शर्माले २०३८ सालमा १५ शैयाका आयुर्वेद अस्पताल स्वीकृत गराउन सफल हुनुभएको रहेछ । माग गरेको भन्दा धेरै कुरा आयुर्वेद अस्पतल पाएको रहेछ ।

यसमा साहित्यमा योगदान गर्ने, उच्च शिक्षा हासिल गर्ने मजगैयाँ पोख्रेलहरुको नामावली राखिएको छ । उनीहरुले गौरव गर्ने र पछिको पुस्ताले पच्छ्याउने आधार हो । राजनीतिक योगदान गर्ने व्यक्तिको पनि सम्मानका साथ नाम राखिएको छ । सामाजिक र धार्मिक क्षेत्रमा योगदान गरेका व्यक्तिलाई पनि पुस्तकले उचित सम्मान गरेको छ । त्यसैले अरु जातले वंशावली बनाउँदा पनि सिक्नुपर्ने धेरै कुरा छन् । उनीहरुका लागि गजबको सन्दर्भ सामग्री हुनसक्छ ।

त्यसैगरी २००८ साल वैशाख १६ गते सुदयरामेश्वर मन्दिर पूर्वतर्फ ठूलो रुखको छहारीमा जनता विद्यालयको उद्घाटन पं टेकनाथ गौतमले गर्नुभएको रहेछ । त्यसताकै दुई हजार तिनसय चन्दा उठेको रहेछ । आठ कक्षासम्मको विद्यालय शुरु गर्न प्रधानाचार्य भारत बलरामपुरबाट डा. विनोद तिवारीलाई ल्याइएको रहेछ । यसरी त्यसबखत मजगैयाँ परिवारमा समेत शिक्षाको स्तर यति कमजोर थियो । यसरी दाङको शिक्षाको विकास अध्ययन गर्न पनि वंशावली उपयुक्त छ ।

यो पुस्तक तयार गर्दाका बखत आठ जनाले उच्च शिक्षा प्राप्त गरेका छन् । एमए सरहको २३ जनाले र विए सरहको ४८ जनाले उतिर्ण गर्नुभएको छ । यो तथ्यांकले शिक्षाको विकास निकै तिब्ररुपमा भएको पुष्टि गर्छ । यो देशमा विकास भएन भनेर निरास हुनेहरुलाई गतिलो जवाफ छ । पुस्तक लेखिएको पनि २५ वर्ष नाघिसकेकाले शैक्षिक क्षेत्रमा ठूलो प्रगति मान्नुपर्छ ।

पोख्रेलहरुलाई छिल्लीकोटे राजा वीरभद्र शाहले मजगाउँ बिर्ता दिएर लालमोहरबाट मजगैयाँ पदवी दिएको उल्लेख छ । छिल्लीकोटको महत्व र छिल्लीकोटे राजाको बारेमा गतिलो तथ्य छ । नेपाल एकिकरण हुँदा दरबारको सुरक्षार्थ भरुवा बन्दुक, ३ वटा फलामे तोप र कवच मात्रै थियो । त्यति हतियार हुँदा समेत सल्यानी राजाले छिल्लीकोट एकीकरणमा समाहित गर्न सकेका छैनन् ।

त्यसबेला बिर्ता पाउन पनि सजिलो रहेछ । सल्यानी राजाले हरिहरलाई फलाबाङको बिर्ता दिएकोप्रसंग ऐतिहासीक छ । बिहान नुहाएको धोती धेरैबेरसम्म काँधमा भिरेको देखेर राजाले किन चिसो धोती काँधमा राखिरहनुहुन्छ पण्डित ? भनेर सोधे । ‘मैले आफ्नो जग्गामा मात्र अधिकार सम्झन्छु, हिंड्नु र बस्नुबाहेक अरु कसैको जग्गामा अधिकार सम्झन्न’ भनेर हरिहरले जवाफ दिए । अनि राजाले नजिकैको जमिन देखाएर ऊ त्यहाँ सुकाउनुहोस् त्यो तपाईको बिर्ता भयो भनेर दिएका छन् । यसले उस जमानामा राजाका नजिक हुनेले बिर्ता पाउन सजिलो रहेको देखाउँछ ।

सुदयरामको जोगीको भेषमा लखनौको लखनौ बाग (बगैचा)मा बस्दा त्यहाँको प्रहरीलाई दिएको जवाफ निकै गर्विलो भेटाएँ । प्रहरीले नबावलाई दर्शन गर्न जानुपर्ने भयो भनेर लिन आएका रहेछन् । ‘योगी कसैको दर्शन गर्न जाँदैन बरु योगीको दर्शन गरे पुण्य मिल्छ ।’ भन्नुभएको रहेछ । तपाईंलाई उच्च ओहदामा राख्छु, धनदौलत दिन्छु यहिं बस्नुस् भन्दा उहाँको त्यहाँका नबावलाई जवाफ थियो । ‘मैले नेपाल सरकारको निमेक खाएको छु बेइमानी गर्दैन’ भनेर जवाफ दिनुभएको रहेछ । लगभग वि. स.१८६५ सालमा यत्रो क्षमता भएको व्यक्ति हुनु चानचुने कुरा होइन ।

यतिको अक्किल अहिलेका सरकार सम्हालेका नेतामा समेत पाइँदैन । हुन त पत्यार गर्न मुस्किल हुने प्रसग धेरै छन् । बरु मजगैयाँको मात्रै सवाल छैन । धेरै ऐतिहासीक, अनुकरणीय र व्यवहार बदल्ने हैसियतका विषय छन् ।

मलाई चाहिएको जंगबहादुर राणा दाङ आएको प्रमाण भेटाउनु थियो । त्यसकै लागि मागेको पुस्तक हो । पुस्तकका धेरै विषयले तान्यो । मैले थप विषयमा जान्ने मौका पाएँ । दाङको शैक्षिक एवं सामाजिक इतिहास भेटिन्छ । यहाँका शिक्षा क्षेत्रको विकासको खोज्नेले यो वंशावलीबाट आधार पाउन सक्छन् । यो एउटा वंशमा सिमित छैन । यसका लेखक श्रीधर शर्मा मजगैयाँप्रति आभार प्रकट गर्दछु । प्रकाशिका गैगादेवी मजगैयाँ, कम्प्युटर टाइप सेटिङ डिजाईन फोटो स्क्यानी गर्ने महेशकुमार शर्मा, अनि मुद्रक राप्ती अपसेट प्रेसलाई पनि बिर्सन सकिन्न । मूल्य दुई सय लेखिएपनि निःशुल्कै पढेर आफ्नो इच्छा पुरा गर्न दिनु भएकोेमा साधुवाद छ ।