• असार १६ २०८१, शनिबार

यसरी मिस युनिभर्स बन्न सफल भइन् भारतीय सुन्दरी

मंसिर २७ २०७८, सोमबार

काठमाडौं । जीवनमा मानिस दुईवटा संवेदनामा रुने गर्छ । एउटा अत्यन्तै खुसी हुँदा र अर्को दुःखी हुँदा, मानिस रुनुपर्ने यी दुईवटा संवेदनाका अवस्थाहरु हुन् । हुन त मानिस रुँदै जन्मिन्छ र रुँदै नै मर्छ । यदी मानिस जन्मनासाथ रोएन भने जन्माउने वा उसका आफन्तहरुलाई रुनु पर्ने हुनसक्छ । किन कि रुनु मानिसको जीवनको पहिलो काम हो ।

जन्मेर रोइसकेपछि जीवनका अरु आयामहरुमा मानिसले प्रवेश गर्छ । आमाको न्यानो काख खोज्नु, दुध चुस्नमा रमाउनु हुँदै अचेत अवस्थाको मानिस चेत अवस्थामा आइपुग्दा असिमित इच्छा र आकांक्षाहरु पलाउन थाल्छन् । खासगरी मानिसमा पलाउने प्रमुख इच्छा र आकांक्षा भनेको अरुलाई पछि पारेर आफू अघि बढ्नु रहेको हुन्छ ।

जीवनको कुनैपनि प्रतियोगिताको दौड किन नहोस हरेक मानिसले अरुलाई जितेर आफू अगाडी जान चाहन्छ । संसारमा धेरै थोरै मात्र मानिसहरु जीवनका यस्ता दौड अथवा प्रतियोगितामा सबैलाई जितेर अगाडी देखिएको दृश्य हामीले देख्ने गरेका छौं । माथि भनिए जस्तै कुनै प्रतियोगितामा अत्यधिक रुपमा विजय हुँदा वा पराजय भएको अवस्थामा समेत अनायास रुपमा मानिसको आँखामा आँशु देखापर्न सक्छ ।

यस्तै संसार भरिको एउटा प्रतियोगितामा संसारकै उत्कृष्ट ठहरिदा एक युवतीले पनि खुसी थाम्न नसकेर आँशु नै बागाएकी छिन् । घटना हो इजरायलको आइलण्ट शहरमा भएको मिस युनिभर्सको फिनाले । जहाँ भारत पञ्जाबकी चण्डीगढ शहरकी २१ वर्षीय हरनाज कौर सन्धुले मिस युनिभर्स भनिने संसार भरिका सुन्दरीको प्रतोयोगितामा आफूलाई यसवर्षको संसारकै एक नम्बर सुन्दरी युवतीमा दर्ज गरिन् ।

सो प्रतियोगिताको ७० औं श्रृंखलामा अन्तिम तीनमा पुगेका दक्षिण अफ्रिका र पारागुवेकी प्रतिस्पर्धीलाई पछि पार्दै सन्धु सन् २०२१ कि विश्व सुन्दरी बनेकी हुन् । प्रतियोगिताको अन्तिम परिणाम आउने बेला उद्घोषकले ‘नयाँ मिस युनिभर्स हुनुहुन्छ, हुनुहुन्छ इण्डिया’ भनेर भन्दा अचानक सन्धुको आँखाबाट खुसीका आँशु बगेको देखिएको हो ।

सन् २०१७ देखि विभिन्न सुन्दरी प्रतियोगितामा सहभागी हुँदै आएकी सन्धुले प्रतियोगिताको फाइनलको लागि प्रश्नकर्ताले सोधेको प्रश्न, ‘वर्तमान समयमा दबाब खेपिरहेका युवा महिलाहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?’ भन्नेमा उत्तर दिंदै उनले भनिन्, ‘अहिलेको युवामा सबैभन्दा ठूलो दबाव आफैमा विश्वास गर्नु हो’ । उनले आफूलाई अरुसँग तुलना गर्न छोड्नु पर्ने बताइन् । विश्वमा जे भइरहेको छ त्यसबारे कुरा गर्न आवश्यक रहेको उनको धारणा थियो । सो प्रश्नको उत्तरमा उनले युवाहरुलाई भनेकी थिइन्,‘बाहिर निस्कनुहोस् आफ्ना लागि बोल्नुहोस्, किनभने तपाईं नै आफ्नो जीवनको नेता हो । म आफूमा विश्वास गर्छु, त्यसैले आज मा यहाँ उभिएकी छु ।’

यसभन्दा पहिले भारतबाट सन् १९९६ मा सुस्मिता सेन र सन् २००० मा लारा दत्तले सो ताज पहिरिएका थिए । प्रतियोगितामा गत वर्षकी विजेता मेक्सिकोकी आन्द्रेया मेजाले यो वर्षकी विजेता सन्धुलाई ताज पहिराइदिएसँगै सन्धुले भगवान, आफ्नो घर परिवार र मिस भारतप्रति कृतज्ञता जनाइन् ।

गज्जवको संजोग त यो रहेको छ कि २१ वर्ष पहिले लारा दत्तले यै ताज भारतमा भित्र्याउँदा सन्धु सोही वर्ष जन्मिएकी थिइन् । २१ वर्षपछि मिस  युनिभर्स भारतमा आएको हो ।