• आश्विन १३ २०८१, आईतवार

यसरी जितिन् पलेसा गोवर्धनले पारा गेम्समा स्वर्ण पदक 

मंसिर २६ २०७८, आईतवार

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले बहराइनमा भएको एशियन युथ पारा गेम्समा स्वर्ण पदक जितेकी छिन् । बहराइनको मनामामा सम्पन्न सो गेम्समा गोवर्धनसँगै अरु दुई खेलाडीले पनि पदक जितेका छन् ।
पदक जित्ने अरु दुईजना खेलाडीहरु तेक्वान्दोकै सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कास्य पदक जितेका छन् । जन्मदै बायाँ हातको हत्केला गुमाएकी पलेसा गोवर्धनले केहि समय अघि जापानको राजधानी टोकियोमा सम्पन्न भएको पारालिम्पिक्समा पनि दुई फाइटमा सफलता हात पारेकी थिइन् ।

अहिले पलेसाले बहराइनको मनामामा सम्पन्न एशियन युथ गेम्समा ५७ किलोभन्दा मुनि ४४ क्याटागोरीमा इरानी प्रतिस्पर्धीलाई हराउँदै स्वर्ण पदक जितेकी हुन् । उनले इरानकी इब्राहिमीलाई ६–० ले हराउँदै स्वर्ण पदक हात पार्दा आफ्नो कामले  विदेशी भूमिमा नेपालको राष्ट्रिय धुन बजाउने आफ्नो सपना पूरा गर्न पाएकोमा अपूर्व खुसी पाएको धारणा व्यक्त गरिन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का अनुसार सोही प्रतियोगितामा तेक्वान्दोकै सृजना घिसिङ ५२ किलोमुनि ४४ क्याटगोरिको फाइनलमा इरानकी गानाबारिको मिसाइनीसँग १८–० ले पराजित भएकी थिइन् । उता विशाल गर्बुजा सेमिफाइनलमै पराजित भएका थिए । उनी ५८ किलोमुनी ४४ क्याटागोरीमा उज्वेकिस्तानका सोनजारोभ कुद्राटिलोसँग ३२–०६ ले पराजित भएका हुन् ।

खेलेको ५ मिनेटको एक राउण्डमा भएको फाइनलमा पलेसा गोवर्धनले कुशलतापूर्वक खेलेर स्वर्ण पदक जितेको उनका प्रशिक्षक कविराज नेगी लामाले बताए । उनले भने, ‘पलेसा धेरै अनुभवी खेलाडी हुन्, उनले यसपटक दिमाग लगाएर खेलिन् ।’ विगतमा जस्तो हतार नगरी खेलेर पलेसाले नेपालका लागि एक ऐतिहासिक सफलता हात परेको उनको भनाइ रहेको छ । उनले अगाडी भने, ‘नेपालमा पारा खेलाडीको यो ठूलो सफलता हो ।’

सन् १९९८ मा भएको एशियन पारा गेम्समा नेपाली तेक्वान्दो खेलाडी सबिता राजभण्डारीले रजत पदक प्राप्त गरेयता नेपाली तेक्वान्दो खेलमा एशियाली खेलकुदमा नेपालले हात पारेको यै सबैभन्दा ठूलो सफलता हो । प्रतियोगिताकामा स्वर्ण पदक जितेर आएकी पलेसा गोवर्धनले अपाङ्गहरुले आफूलाई नलुकाएर बाहिर आएको खण्डमा सबैको जति काम गरेर देखाउन सकिने धारणा व्यक्त गरिन् ।

उनले आफूजस्तै अरु अपाङ्गहरुलाई भनिन्, ‘खेलमा मात्रै होइन, हिले सबै क्षेत्रमा सम्भावना छ, उज्यालोतिर हेरौं, कति राम्रा चीजहरु छन् ।’ आफू जुन क्षेत्रमा भएपनि हरेश नखाएर सबै बराबर हौँ भन्ने भावना लिएर आफ्नो क्षेत्रमा राम्रो गर्न उनले सुझाइन् । विगतका आफ्ना गल्ती र अनुभवहरुबाट सिकेर आफूले यो सफलता हात पारेको उनको भनाइ छ ।