• बैशाख ९ २०८२, मंगलवार

काँग्रेसमा ढुंगाना र रिजाल निर्विरोध निर्वाचित

मंसिर २६ २०७८, आईतवार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । ढुंगाना, रिजाल र जंगीलाल राय यादव गरी तीनजनाको मात्र उमेदवारी परेको प्रदेश नम्बर २ को खुला केन्द्रीय सदस्यमा जंगीलाला यादवले आफ्नो उमेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल निर्विरोध निर्वाचित हुन पुगेका हुन् ।
‘क्लस्टरवाइज’ भएको निर्वाचनमा सम्बन्धित क्लस्टरबाट जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाललाई सर्वसम्मतका आधारमा निर्वाचित भएको घोषणा गरिएको हो । निर्वाचित ढुंगाना र रिजाल दुबै देउवा पक्षका हुन् ।

त्यसै गरी नेपाली कांग्रेसका केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । विश्वकर्माले दलित खुला तर्फबाट शनिबार मनोनयन दर्ता गराए पनि उनले फिर्ता लिएका हुन् ।
विश्वकर्माले केन्द्रीय निर्वाचन समितिलाई पत्र लेखेर उम्मेदवारको सूचीबाट नाम हटाइदिन आग्रह गरेपछि उनको उमेदवारी फिर्ता भएको हो । हाल पाँच जना दलित खुला केन्द्रीय सदस्यका लागि २६ जना अहिलेसम्म प्रतिस्पर्धामा रहिरहेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बन्द सत्रमा शनिबार उम्मेदवारी दर्ता गर्ने काम सम्पन्न भएको थियो । आइतवार उम्मेदवारको मनोनयन फिर्ता लिने समय बिहान ११।०० बजे सम्मका लागि तोकिएको छ । त्यसपछि लगत्तै १२।१५ बजे अन्तिम नामावली प्रकाशन गरी सोमवार बिहान ८।०० बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको छ ।