काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलन आज (शनिबार) हुँदैछ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको माओवादी केन्द्रले जनाएको छ ।
अधिवेशन दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।
प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ । विशेष र सम्पर्क समितिले अनुकूलनमा सम्मेलन गर्ने बताइएको छ । प्रवास समितिको सम्मेलन शनिबार नहुने र छिट्टै सम्पन्न हुने उनले बताए ।
सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् । प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् ।
माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदैछ ।