• बैशाख ९ २०८२, मंगलवार

काँग्रेसको १४ औँ महाधिवेशनमा आर्थिक प्रतिवेदन : आम्दानी बढ्यो, खर्च घट्यो

मंसिर २४ २०७८, शुक्रबार

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा आर्थिक वर्ष २०७२–७३ देखि २०७७–७८ देखिको आय व्यय विवरण प्रस्तुत गरिएको छ ।

कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको बन्दसत्रमा आर्थिक प्रतिवेदन पेश गरेकी हुन् ।

पछिल्लो आय व्यय विवरणअनुसार पार्टीले ११ करोड २१ लाख ११ हजार २२१ रुपैयाँ कूल आय गरेको उल्लेख छ । जसमा ९ करोड २४ लाख ९४ हजार ९९४ रुपैयाँ दस्तुर र नवीकरणबाट प्राप्त भएको प्रतिवेदनमा भनिएको छ । त्यस्तै, १ करोड ३ लाख ४१ हजार ६५८ रुपैयाँ चन्दा र सहयोग कुपन र पब्लिकेशन बिक्रीबाट ८ लाख ३९ हजार ५० रुपैयाँ र अन्य आयबाट ८४ लाख ३५ हजार ५७० रुपैयाँ प्राप्त भएको उल्लेख छ ।

यता, पार्टीले कर्मचारी खर्च र साधारण तथा प्रशासनिक खर्च बापत ३ करोड ४ लाख ४९ हजार १०५ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा भनिएको छ । यसरी पार्टीसँग खुद बचत ८ करोड १६ लाख ६२ हजार ११६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो वर्षको तुलनामा पार्टीको आम्दानी वृद्धि भएको र खर्च घटेको देखिएको छ । यादवका अनुसार चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो चौमासिक अवधि २०७८ कार्तिक मसान्तसम्मको अवधिमा पार्टीले ४ करोड ४९ लाख आय आर्जन गरेको र २ करोड ४८ लाख खर्च हुँदा २ करोड ११ लाख बचत भएको छ ।

कूल बचत विभिन्न वाणिज्य बैंकहरुमा गरी १ वर्षे मुद्दतिमा १० करोड तथा वचत चल्ति खातामा २ करोड जम्मा भएको कोषाध्यक्ष यादवले बताइन् ।