सुरुका बेलामा रिलमा कैद गरेर ‘स्यानिमा’ अर्थात् सिनेमा निर्माण गरिन्थे । त्यो बेलामा सपनाजस्तो थियो, सिनेमा । ठूला पर्दा अगाडि देखिने नायक र नायिका स्वर्गका सुन्दर, सुन्दरी वा परीजस्ता देखिन्थे । पर्दा पछाडिका निर्माता, निर्देशक र पटकथाकार तथा सहयोगीहरु त अहिले पनि लुकेकै अवस्थामा छन् ।
तर तिनै सुन्दर, सुन्दरी वा नायक नायिका देखाउने पुराना नेपाली चलचित्रका रिलहरु अहिले उप्किएर, मक्किएर वा टुक्रिएर पुनः प्रयोगमा ल्याउन नसकिने अवस्थामा छन् । काम नलाग्ने भएपछि सम्झनामा मात्र बाँकी रहने त होइनन् ती पुराना नेपाली चलचित्रहरु भन्ने चिन्ताले सबैलाई सताउन थालेको छ ।
नेपाली चलचित्रको जन्म र बामेसर्ने अवस्थाको इतिहास बोकेका पुराना अजम्मरी चलचित्रहरु फेरि पनि पर्दामा आउन सक्लान् कि नसक्लान् भन्ने कुरा आशंकाको गर्भमा पुगिसकेको छ । ती चलचित्र अहिले अस्तित्व रक्षाको संकटमा छन् ।
थालनी ताकाका नेपाली चलचित्र जगतका बाह्रखरीहरु हराए भने आजको डिजिटल चलचित्रको दुनियाँले आफ्नो धरातल त गुमाउने होइन रु यो पनि प्रश्न बनेर आइरहेको छ । यदि त्यसो भयो भने ती बाह्रखरीले बनेका शब्दरुपी नयाँ चलचित्रहरुले कताको वाक्यरुपी गन्तव्य सोझ्याउने हुन् ?
नेपालीको बानी कहिल्यै नजाने भन्ने उखान छ । नयाँ काम गर्दा निकै उत्साहित हुने तर त्यो कामको संरक्षण र प्राप्त उपलब्धीको रक्षा गर्न कही पनि ध्यान नदिने । यही प्रवृत्तिले समकालीन नेपाली समाजमा पनि निरन्तरता पाउँदै गएको छ । यो हाम्रो गल्ती र कमी कमजोरीको ‘लिगेसी’ हो ।
यसैका कारण पुराना चलचित्रको ‘नेगेटिभ’ आज सुरक्षित छैनन् । अमेरिका वा इण्डियामा लगेर सुरक्षित भण्डारण गर्न भनिएका रिलहरु पनि अहिले पैसा तिर्न नसक्दा ती फिर्ता आउनसक्ने अवस्थामा छैनन् ।
चलचित्र बजारमा त भण्डारणको भाडाशुल्क तिर्न नसक्दा रिलहरु संरक्षण गरिएका ठाउँहरुबाट जलाएर नष्ट गरिसकिएका छन् भन्ने कुरा पनि आएका छन् । आधिकारिकता पुष्टि हुन बाँकी रहे पनि यी कुराले चिन्ता भने अवश्यै जन्माएका छन् ।
नेपाली फिल्म ‘डिजिटलाइज्ड’ हुनु अघि वा बिसं २०३० देखि २०६० सालसम्मका २ सयभन्दा बढी चलचित्रको ‘भौतिक अस्तित्व’ संकटमा रहेको देखिएका छन् । ती सबै चलचित्रको प्रिन्ट बिग्रिइसकेको छ । नयाँ प्रिन्ट बनाउन आवश्यक पर्ने ‘फिल्म नेगेटिभ’ पनि सही हालतमा छैनन् ।
निर्देशक तथा निर्माता यादव खरेलले आफ्ना दुई चलचित्र ‘प्रेमपिण्ड’ र ‘आदिकवि भानुभक्त’को नेगेटिभलाई क्यालिफोर्नियास्थित युनिभर्सिटी अफ लस एन्जल्समा सुरक्षित राख्न सफल भएका छन् । यसैले यी दुई महत्वपूर्ण चलचित्रको चाहिएको समयमा डिजिटलमा प्रिन्ट निकालेर पुनः प्रदर्शन गर्न सकिने अबस्था छ ।
अर्का निर्माता तथा निर्देशक तथा तुलसी घिमिरेले पनि नेगेटिभमा बनेका आफ्ना आधा दर्जन चलचित्रलाई डिजिटलमा ढालेर त्यसको नेगेटिभलाई मुम्बईमा सुरक्षित गरिसकेका छन् । भनिन्छ उनका कोसेली, दुई थोपा आँसु, रहर, साइत, दर्पण छायाँ, दुई किनाराजस्ता चलचित्रलाई अहिले पनि चाहेको समयमा ‘कपी’ गर्न सकिने अवस्थामा छन् ।
तर २०६० सालभन्दा अघि निजी क्षेत्रबाट निर्माण भएका २ सयभन्दा बढी चलचित्रको अस्तित्व संकटमा छ । नेपाल चलचित्र बोर्डमा भण्डारण कक्ष सुरक्षित र आधुनिक दुबै हुन सकिरहेको छैन । बोर्डले यसका कम सोच्ने गरेको देखिन्छ ।
चलचित्र बोर्डमा चलचित्र जगतबाट आएका प्रतिभालाई जिम्मेवारी दिनुभन्दा पनि राजनीतिक क्षेत्रका मानिसलाई नियुक्ति दिन थालेपछि चलचित्र बोर्ड ‘राजनीतिक बोर्ड’जस्तो हुन गएको छ । यसले चलचित्रमा योगदान रहेका मनिसहरुको कदर हुन छाड्नु, राजनीतिक भागबण्डाको अखडा बन्न जानु, कलाकार आर्थिक समस्याका कारण पलायन हुनु, कलाकारप्रति हेर्ने दृष्टिकोण गलत हुनु आदि परिणाम ल्याउँदै गएको छ ।