• बैशाख ४ २०८२, बिहीबार

त्रिविले मनायो भ्रष्टाचार विरुद्धको दिवस

मंसिर २४ २०७८, शुक्रबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भ्रष्टाचार निवारणमा साझा प्रतिवद्धता आवश्यकता र चुनौती, विषयक गोष्ठीको आयोजना गरी अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको ‘सुशासन एवं भ्रष्टाचार निवारण’ संकायका स्नातकोत्तर तहका विद्यार्थीको संयोजकत्वमा आयोजना भएको कार्यक्रममा सहभागि अतिथिहरुले भ्रष्टाचार निवारणमा साझा प्रतिबद्धता लेखिएको ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको शुरुवात गरियो ।

गोष्ठीमा प्रा.डा.शिवराज अधिकारीले भ्रष्टाचार निवारणका विषयमा प्रशिक्षण दिएका थिए । पूर्व सूचना आयुक्त कृष्णहरी बास्कोटा, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, भ्रष्टाचार निवारण अभियानका संस्थापक भरत जंगम लगायतले भ्रष्टाचार निवारणको विषयमा मन्तव्य दिएका थिए ।

सम्पूर्ण वक्ताहरूले नेपालमा भ्रष्टाचार बढ्दै गएको र हरेक तहमा बलियो कानुन बनाएर सदाचारलाई प्रोत्साहन गरि भ्रष्टाचारलाई दुरुत्साहन गर्नुपर्ने कुरामा जोड दिए । ट्रान्सप्यारेन्सी इन्टरनेसनलका अनुसार नेपाल भ्रष्टाचारी मुलुकमा ११७औँ स्थानमा रहेको छ ।

कार्यक्रमको अध्यक्षता त्रिभुवन विश्वविद्यालयको सुशासन एवं भ्रष्टाचार निवारण विभाग प्रमुख प्राध्यापक योगेश रंजितले गरेका थिए । आयोजकको तर्फबाट स्वागत मन्तव्य हरीबहादुर खत्रीले दिएका थिए ।