• असार २३ २०८१, शनिबार

सडक निर्माणका कथा : कुरा खरायोको, कामको गति भने कछुवाको

मंसिर २४ २०७८, शुक्रबार

दाङ, २४ मंसीर ।
घोराहीको हापुर हुँदै तुलसीपुर रक्षाचौर आँखा अस्पताल जोड्ने सडक बनाउने कुरा गर्न लागेको वर्षौं भैसक्दा पनि उक्त सडकले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । सोही सडक अन्र्तगत आँखा अस्पतालदेखि घोरानेटी जोड्ने सडकले भने तिन दशकपछि मुहार फेर्न थालेको छ ।

अहिले मजुवादेखि कौवाखोलीसम्म सडक फराकिलो बनाउने, पक्की नाला निर्माण गर्ने, ग्राहो लगाउने, जाली लगाउने जस्ता कामहरु भएको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ का वडाअध्यक्ष बालकृष्ण रानाले जानकारी दिए । आँखा अस्पताल हुँदै हापुर– घोराही जोड्ने सडक अन्र्तगत राप्ती राजमार्गदेखि घोरानेटी जोड्ने कौवाखोलीसम्म अहिले तिन किलोमिटर सडक कालोपत्रे हुन लागेको रानाले बताए । वडा कार्यालय र उपमहानगरपालिकाको निरन्तर पहलमा वर्षौंपछि आँखा अस्पताल हुँदै घोरानेटी जोड्ने सडकले मुहार फेर्न लागेको उनले दाबी गरे ।

गत आर्थिक वर्ष ०७७÷७८ बाटै काम गर्ने तयारी गरेपनि आवश्यक प्रक्रियामा ढिलाई हुँदा चालु आर्थिक वर्षबाट काम सुरु भएको उनले बताए । “यस अघिका बजेटले घोराहीबाट सुरु हुँदै आएकोमा आफूहरुको पहलले गर्दा अहिले रक्षाचौर आँखा अस्पतालबाट काम सुरु भएको छ” उनले भने । उक्त सडक कालोपत्रेका लागी संघीय सरकारबाट बजेट विनियोजन भएको हो । घोराही, मसिना, आँखा अस्पताल, पवननगर हुँदै पुरन्धारा जोड्ने वैकल्पिक सहायक राजमार्ग शिर्षकमा आएको बजेटले गत वर्षबाट काम भइरहेको सडक डिभिजन कार्यालय दाङका इन्जिनियर अमित सुवेदीले जानकारी दिए ।

गत वर्ष घोराहीदेखि सुरु गर्ने भनेर संघीय सरकारबाट २० करोड बजेट विनियोजन भएकोमा १२ करोडको मात्रै टेण्डर भएको सुवेदीले बताए । त्यसमध्ये बाँकी रहेको आठ करोड बजेटले राप्ती राजमार्ग आँखा अस्पतालदेखि सडक कालोपत्रेका लागि टेण्डर आह्वान गर्दा ४ करोडमा ठेक्का सम्झौता भएको उनले जानकारी दिए । उक्त बजेटले आँखा अस्पताल हुँदै घोरानेटी जोड्ने तिन किलोमिटर सडक कालोपत्रे हुने भएको छ ।

सडक कालोपत्रेका लागि चारवटा निर्माण कम्पनीले जिम्मा लिएका छन् । चार प्याकेटमा विभाजन गरी उनीहरुले काम गरीरहेको इन्जिनियर सुवेदीले जानकारी दिए । जसमा दुई प्याकेज रिने निर्माण सेवाले जिम्मा लिएको छ भने महाशक्ति विल्र्डस र बासिस्टा निर्माण सेवा काठमाडौंले पनि जिम्मा लिएका छन् । ती मध्ये बासिस्टा निर्माण कम्पनीले पेटी ठेकेदार जलजला निर्माण सेवाका संचालक अमृत वलीलाई जिम्मा दिएको छ । घोराही हापुर हुँदै आँखा अस्पताल, पवननगरदेखि पश्चिम पुरन्धारासम्म जोड्ने सडक भएकाले फेरि १२ करोड बजेट विनियोजन भएको छ ।

चालु आर्थिक वर्षमा उक्त बजेट विनियोजन भएको सडक डिभिजन कार्यालय दाङका इन्जिनियर सुवेदीले जानकारी दिए । तर उक्त बजेट टेण्डर नभई सिधै खर्च प्रक्रियामा जानेछ । आयोजना ठूलो भएकाले थप बजेट आएको उनले बताए । यस अघि कोरोना माहामारी लगायतका कारणले समयमा काम गर्न नसकिएको हुदाँ हाल काम गरिरहेका निर्माण कम्पनी मार्फत् उक्त बजेट खर्च हुने सुवेदीको भनाई छ । थप आएको बजेटले घोराही र तुलसीपुर दुवै तर्फबाट काम हुनेछ । घोराही हापुर हुँदै आँखा अस्पताल, पवननगर देखि पश्चिम पुरन्धारा सम्म जोड्ने सडक विस्तार गर्ने प्रक्रिया अघि बढेको छ । यसअघि घोराही हापुर हुँदै राप्ती राजमार्ग जाड्ने आँखा अस्पताल सम्मको सडक विस्तारको काम भइरहेको छ । यस सडकलाई सहायक सडक मार्गका रुपमा हेरिएको छ ।

घोराही हापुरदेखि पश्चिम पुरान्धारासम्म सहायक सडक विस्तार गर्नका लागि डिपीआर निर्माण भईरहेको छ । सडक डिभिजन कार्यालयका इन्जिनियर अमित सुवेदीका अनुसार ३३ किलोमिटरको सडकको डिपीआर तयार भएको छ । अब आईईए प्रतिवेदन तयार गर्ने प्रक्रीया अघि बढेको छ । यो प्रतिवेदन सम्पन्न भएमा तुरुन्तै आँखा अस्पतालदेखि पवननगर हुँदै पश्चिम पुरन्धारा सडक विस्तारको ट्रयाक खोलिने छ । आईईए प्रतिवेदन स्वीकृत हुने बित्तिकै राप्ती राजमार्ग अन्र्तगत आँखा अस्पताल हुँदै पश्चिम पवननगर पुरन्धाराका लागि जंगलै जंगल ट्रयाक खोलिने छ ।