• मंसिर ११ २०८१, मंगलवार

पुटिनको भारत भ्रमणले तरंगित विश्व राजनीति

मंसिर २४ २०७८, शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा बोलाइएको लोकतन्त्रिक शिखर सम्मेलनमा सहभागिताका लागि तैयार अवस्थामा रहेको भारतले, नयाँ दिल्लीमा एक्काईसौं भारत–रुस बार्षिक शिखर वार्तामा रसियाली राष्ट्रपति भ्लादमिर पुटिनको आतिथ्य गर्नुको दुरगामी महत्व छ ।

कोभिड महामारी सुरु भएको दुई वर्षमा व्यक्तिगत रुपमा पुटिनको यो पहिलो विदेशयात्रा थियो । अमेरिकासित भारतको नजिकिदो दुईपक्षीय सम्बन्ध र चीनसित रुसको बढ्दो घनिष्ठताका बाबजूद पुटिनले ६ घण्टाको यात्रालाई पूरागरी ६ घण्टाको निम्ति मात्र भए पनि नयाँ दिल्ली पुग्नु भारत–रुस बलियो सम्बन्धको महत्व एवम् अपरिहार्यतालाई दर्शाउँछ ।

अमेरिकाले प्रतिबन्ध समेत लगाउन सक्ने कठोर चेतावनीका बाबजूद भारतले रुससित एस–४०० ट्रायम्फ मिसाइल खरिद गर्नु र एस–५०० को निम्ति वार्ता गर्नुले पनि भारत–रुस बीचको सात दशक लामो मैत्रीसम्बन्ध अझ पनि त्यति नै महत्वपूर्ण एवम् प्रगाढ रहेको साबित गर्दछ ।

अन्तर्राष्ट्रिय र क्षेत्रीय मञ्चहरुमा यदाकदा भारत र रुसबिच मतभेद पनि रहेको पाइन्छ । तर यसको प्रभाव दुईपक्षीय सम्बन्धमा परेको देखिएन । मोदी—पुटिन शिखरवार्ताले अमेरिका, अफगानिस्तान, भारत—चीन सम्बन्ध, तालिवान र क्वाड लगायत अन्य कतिपय विषयलाई पनि चर्चामा ल्याइदिएको छ । पुटिनको भारत भ्रमणले विश्व राजनीतिलाई नै तरंगित बनाइदिएको छ ।

एक्काइसौं भारत–रुस वार्षिक शिखरवार्तामा प्रधानमन्त्री मोदीले पछिल्लो दशकमा विश्वमा भएका अनेकौं परिवर्तन एवम् कोरोना महामारीको प्रकोपका बाबजूद भारत र रुसबीचको सम्बन्धमा कुनै परिवर्तन नआएको बरु यो अझ प्रगाढ नै भएको धारण व्यक्त गर्दै दुई देशको खास एवम् विशेषधिकार प्राप्त रणनीतिक साझेदारी थप बलियो भएको विश्वास व्यक्त गरे ।

रुसका राष्ट्रपति ब्लादिमिर पुटिनले भारतलाई एउटा महान शक्ति, मित्रदेश तथा विश्वासिलो साथीको रुपमा आफु हेर्दै आएको धारणा राख्नु भयो । दुवै देशबीचको सम्बन्ध निरन्तर रुपमा सुदृढ भइरहेको तथा भविष्यमा पनि यो बलियो नै रहने विश्वास व्यक्त गरे ।

हाल दुवै देशबीच करिब ३८ अर्ब डलरको कारोबार भइरहेको तथा यसबाहेक सैन्य र प्राविधिको क्षेत्रमा पनि साझेदारी हुँदै आएको छ । आतंकवादको विरुद्धमा रुस र भारतको साझा धारणा रहेको छ ।
पुटिनको भारत भ्रमण त्यहाँका प्रतिरक्षा र विदेशमन्त्री पनि आएका थिए । भारत र रुसबीच दश वर्षको निम्ति सैन्य सहयोग सम्झौतामा पनि हस्ताक्षर हुनको दुरगामी महत्व छ ।

रसियाली राष्ट्रपति पुटिनले पनि आफ्नो भारत भ्रमणबाट एकैसाथ धेरै सन्देश दिन सफल भएका छन् । पहिलो त एशियामा एक्लै चीन मात्रै शक्ति राष्ट्र होइन तथा आज पनि रुसको निम्ति सात दशक पुरानो मित्र भारत नै उसको भरपर्दो मित्र तथा एशियामा अर्को पनि शक्ति रहेको संकेत दिन खोजेका छन् ।
रुस–चीन गठबन्धन पश्चिमेली देशहरु सामु संयुक्त विरोधको एउटा मोर्चा अवश्य पनि हो तर भारतको महत्व रुसको निम्ति महत्वपूर्ण हो । बहुध्रुवीय विश्वमा भारतको स्थिति र प्रभाव निरन्तर रुपमा बलियो हुँदै गएको छ ।

पुटिन स्वयम्ले पनि भनिसकेका छन कि भारतको वर्तमान विदेश नीतिको दिशा र प्राथमिकता रुसको निम्ति अनुकुल रहेको छैन । तथापि दुई देशको मित्रताको परम्परा र दुईपक्षीय साझेदारी आगामी दिनमा पनि अझ बढी प्रगाढ नै हुने विश्वास पनि व्यक्त गरेका छन् ।

भारतको ‘एक्ट फर इष्ट’ पोलिसीलाई भारतको इन्डो–प्यासिफिक रणनीतिको निम्ति महत्वपूर्ण मानिन्छ । अर्कोतिर रुसको एक्ट इष्ट नीति इण्डो प्यासिफिकमा भारत–रुस सम्बन्ध र आशियान क्षेत्रको दृष्टिकोणले महत्वपूर्ण साबित हुनेछ ।

भारतका एक्ट इष्ट पोलिसीमा ऊर्जा सबैभन्दा महत्वपूर्ण विषय हो र भारत सरकार रुसी तेल क्षेत्रमा आफ्नो लगानीलाई लिएर निकै उत्साही पनि छ । रुससित विश्वकै सर्वाधिक प्राकृतिक ग्यास भण्डार रहेको छ, यसमध्ये अधिकांश भण्डार रुसको पूर्वी क्षेत्रमा रहेको छ ।

पूर्वी आर्थिक मञ्चको भर्चुअल बैठकमा भारतका प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गर्दै भनेका थिए कि भारत र रुस वैश्विक ऊर्जा बजारमा स्थायित्व ल्याउने पहल गर्न सक्दछ ।

उनले सङ्गमको ऐतिहासिक र सभ्यतागत महत्व माथि प्रकाश पारेका थिए । उनले भनेका थिए कि ब्लादिवोस्तक युरेशिया र प्रशान्तको संगम हो र यसको भूरणनीतिक महत्व हो ।

भारतको तेल र ग्यास कम्पनीहरु रुसको पूर्वी एवम् आर्केटिक क्षेत्रमा तेल तगा ग्यास क्षेत्रमा लगानी गर्न इच्छुक छ । रुसको तेल र ग्यास परियोजनामा भारतको लगानी १५ अर्ब डलरभन्दा बढिको भइसकेको छ ।

भारतद्वारा देशबाहिर कुनै एक क्षेत्रमा तेल र ग्यास क्षेत्रमा गरिएको यो सर्वाधिक लगानी हो । रुसी तेल कम्पनी रौसनेफटले सन् २०१७ मा एस्सार आयललाई १२.९ बिलियन डलरमा अधिग्रहण गरेको थियो ।
ब्लादिबोस्तकमा ई.ई.एफका बेला दुवै देशले कमर्शियल शिपबिल्डिङ्ग कोअपरेसनलाई लन्च गरेका थिए । कृषि उद्योग सेरेमिक्स, स्टेटेजिक तथा रेयर अर्थ मिनिरलर र डायमण्डको क्षेत्रमा नयाँ सम्भावना खोज्ने कुरा थालनी गरेका थिए ।

इण्डो–प्यासिफिक क्षेत्रदेखि लिएर अफगानिस्तान–पाकिस्तान सम्मका कतिपय विषयमा मतभेदका बाबजुद भारत–रुस दुईपक्षीय सम्बन्ध प्रगाढ नै रहिआएको छ । बर्षौदेखि क्रेमलिन र पश्चिमबीच विरोधाभाष कायम रहेको छ भने भारत–रुस व्यापारिक सम्बन्ध पनि खासै सुधार भएको छैन । तथापि दुईपक्षीय सम्बन्धलाई बलियो बनाउने काम भइरहेको छ ।

वर्तमान अवस्थामा भारत–अमेरिका सम्बन्धमा निकै न्यानोपन आएको छ । जबकि रुस र अमेरिका एक अर्काका प्रतिद्वन्दी हुन् । ब्रिक्स, (भारत, रुस, ब्राजिल र चीन) आर.आई.सी (रुस, भारत, चीन) तथा संघाई सहयोग संगठनसमेत कतिपय मञ्चहरुमा एकै साथ छन् ।

अन्तर्राष्ट्रिय मामिलाका विज्ञहरुअनुसार चीनलाई सन्तुलनमा ल्याउनको निम्ति नै रुसले एस.सी.ओ.मा भारतलाई ल्याउने काम ग¥यो जबकि चीनले भारतलाई सन्तुलनमा ल्याउन पाकिस्तालाई आमन्त्रित ग¥यो ।

अर्कोतिर यसैवर्ष गत महिना भारतले रुसलाई हिन्दमहासागर रिम एसोसिएसनमा एउटा डायलग पार्टनर (संवाद साझेदार) को रुपमा सहभागी गरायो । यस समूहमा २३ देशहरु सदस्या तथा १० सम्वाद साझेदार छन् ।

रिम एसोसिएनमा रुसको सहभागिता भनेको हिन्दमहासागरमा रुसको भूमिकालाई प्रमुख बनाइदिनु हो । अफगानिस्ताको विकासको सवालमा पनि भारत र रुसको साझा धारण रहेको छ तथा दुवै देश अफगानिस्तालाई आतङ्कारीहरुको केन्द्र बन्नबाट रोक्नका निम्ति सहयोग गरिरहेका छन् ।

भारत सितको सम्बन्धलाई स्थिर राख्दै रुसले चीनसित राम्रो बनाएको छ । दुबै देश अमेरिकाका विरोधी भएका कारण नजिक आउनु स्वाभविकै हो । सन् २०२२ को फेब्रअरीमा चीनमा हुन लागेको शीतकालीन ओलिम्पकको उदघाटन समारोहमा सहभागी हुन रुसले आमन्त्रणलाई स्वीकार गरिसकेको छ जबकि अमेरिका र न्युजिल्याण्डले कुटनीतिक बहिस्कार गरिसकेको छ ।

लद्दाख विवादका बेला चीन र भारतलाई वार्ताको टेबुलमा ल्याउन रुसले ठूलो भूमिकाको निर्वाह गरेको थियो । अहिले पनि रुसले भारत र चीनको तिक्ततालाई कम गराउने प्रयास गरिरहेको छ ।
भारत–रुस राम्रो सम्बन्धका बाबजूद कवाडलाई रुस सधै नै नकारात्मक रुपमा हेर्दैआएको छ । जब कि भारतको निम्ति क्वाड महत्वपूर्ण हो । क्वाड संरचना चीनको विरुद्धमा लक्षित हो भन्ने कुरामा रुस पनि सहमत छ ।

कतिपस मतभेदका बाबजुद रुस–भारत सम्बन्ध बलिया नै रहिरहने छ । एकै साथ रुस–अमेरिका, इजरायल–प्यालिसटाइन र इरान–अफगानिस्तान बिच सन्तुलन बनाई अगाडि बढ्ने मोदीको कुटनीति अतुलनीय छ । पुटिनको भारत भ्रमणले विश्व राजनीतिलाई तरंगित पारेको छ ।