काठमाडौं । काठमाडौंस्थित वीर असपतालमा भर्ना भएपनि उपचारमा आर्थिक अभाव झेलिरहेका रोल्पा गामका कुमानसिंह घर्तीमगरलाई नेपाल मगर संघले आर्थिक संकलन अभियान सुरु गरेर उपचार सहयोग गर्ने भएको छ । रोल्पा सुनछहरी गाउँपालिका वडा नम्बर ३ गामका घर्तीमगर अस्पतालको शैयामा आर्थिक अभाव भएर टोलाइरहेको खबर पाएपछि वीर अस्पाताल भेट्न पुगेका नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोकामगरको नेतृत्वको समूहले पीडित घर्तीमगरलाई सहयोग गर्न आर्थिक संकलन अभियान चलाएर भएपनि उपचार गरेरै छोड्ने बताएको हो ।
अस्पतालमा पीडित घर्तीमगरलाई भेट्न अध्यक्ष नविन रोकामगरका साथै संघका महासचिव ज्ञानेन्द्र पुनमगर, जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष आशामा बुढामगर, मगर युवासंघका केन्द्रीय कोषाध्यक्ष भुपेन्द्र बुढामगर, गोलखबर डटकमका संचालक जीवन बुढामगर लगायतको समूह पुगेको थियो ।
घर्तीमगरको आर्थिक अवस्था कमजोर भएको थाहा हुने समाजसेवीहरु भेट्न आउने गरेको र कसैकसैले अस्पतालमै पुगेर आर्थिक सहयोग गर्ने गरेको पीडितकि कुरुवा तथा उनकी बहिनी पवित्रा घर्तीमगरले जानकारी दिइन् । बिरामी भेट्न जाँदा भेट्न आउनेहरुले प्रत्यक्ष रुपमा र देश विदेशबाट पनि रकम संकलन गरेर सामाजिक संजालमा रहेको मगर पब्लिक ग्रुप मार्फत् पनि अलिअलि सहयोग आउने गरेको पवित्राले बताइन् ।
अलिअलि सहयोग गरेर घर्तीको पूरा उपचार सम्भव नभएकोले उनलाई सबैले सहयोग गरिदिन नेपाल मगर संघले सर्वसाधारणलाई अपिल गरेको छ । अध्यक्ष नविन रोकामगर, महासचिव ज्ञानेन्द्र पुनमगर, मगर युवासंघका कोषाध्यक्ष भुपेन्द्र बुढामगर लगायत समाजसेवीहरुले घर्तीलाई सहयोग गर्न अपिल गरेका छन् ।
यसैबीच अस्पतालमा आर्थिक समस्या झेलिरहेका घर्तीमगरलाई सहयोग गर्न नेपाल मगर संघको अगुवाइमा एक ‘कुमानसिंह घर्तीमगर उपचार सहयोग समिति’ गठन गरिएको नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोकामगरले जानकारी दिए । पाँच सदस्यीय सो सहयोग समिति नेपाल मगर युवा संघका केन्द्रीय अध्यक्ष जयप्रकाश बुढामगरको संयोजकत्वमा गठन गरिएको हो ।
सो सहयोग समितिमा पीडितकि बहिनी पवित्रा घर्तीमगर, संघका वरिष्ठ उपाध्यक्ष रेम पुनमगर, कोषाध्यक्ष भुपेन्द्र बुढामगर र गोलखबर डटकमका संचालक जीवन बुढामगर रहेका छन् । यथाशिघ्र बैंक खाता खोलेर पीडित घर्तीमगरलाई संसार भरिबाट आर्थिक सहयोग गर्न सजिलो बनाइने भएको छ । खाता खुल्नासाथ सो बैंक खाता सार्वजनिक गरिने बताइएको छ ।