म चाहन्न
मेरो देशका युवाहरु विदेशमा गई
कर्म गरेर पठाएका रगत पसिनामा
होली खेल्दै आफ्नो मुहार
रङ्गीन पार्न
किन कि
मेरो देशका कैयौं उर्वर भूमि
बाँझो भै उजाड मरुभूमिमा
रुपान्तरित बन्दैछ,
म चाहन्न
मेरो मातृभूमिमा विश्वले सहयोग गरेकै
कारण आफ्नो वीरताको इतिहाससँग
भिखारी जीवन साटासाट गर्दै
निरीह जीवन बाँच्न
किन कि
म स्वदेशमै आफ्नै पौरख र पसिनामा
विश्वस गर्ने परिश्रमै रमाउँदै
हिराका सिरक सुनका डसना
चाँदीका सिरानी ओछ्याएर
सुतेको नेपाली हुँ ।
म चाहन्न
मेरो राष्ट्रका युवा विदेशी सेनामा भर्ति भई
विदेशी भूमिमा विजयी हुँदै नाम कमाई
विश्वसामु चम्किएका छन् भनि
गर्वका साथ बोल्न
किन कि
मेरो देश आज विदेशीका सामु गुलामी भई
स्वदेशी सीमानाहरु मिचाइमा पर्दै
छिमेकीका इसारामा खुम्चिएर
नाच्दै गाउँदै आँशुमा पोखरीमा
डुबुल्की मार्दै बस्न बाध्य छ ।
म चाहन्न
मेरो राष्ट्र नायकले राज्यको शासन
सत्ताको बागडोर समाल्दै गर्दा
विदेशी छाउराहरु राज्यका
मर्यादालाई कुल्चंदै
सिधै आएर बधाई
दिऊन भनेर
किन कि
यो मेरो देश पनि विश्व मानचित्रमा
छुट्टै्र सार्वभौम सत्तालाई
आत्मसाथ गरि आफ्नै
स्वाभिमान र राज्यका नीति
एवम् मर्यादा क्रमलाई
पहिलो प्राथमिकता दिने
अनुशासित मुलुक हो ।