काठमाडौँ। नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले चितवनमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनले पार्टी राष्ट्रिय राजनीतिमा लोकप्रिय र प्रभावशाली भएको सन्देश गएको बताएका छन् । प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले सो कुरा बताएका हुन्।
महाधिवेशनको उदघाटनसत्रमा नारायणी तीरमा देखिएको ठूलो जनसहभागिता र बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनुले पार्टी थप शक्तिशाली देखिएको बताए । मुलुकमा राजनीतिक निकासका लागि ताजा जनादेश नै विकल्प भएको एमालेको ठहर रहेको जनाउँदै उनले गठबन्धन सरकारभित्रको अन्योल र न्यायालयमा देखिएको विवादले एमालेको धारणालाई सही सावित गरेको स्पष्ट गरे ।
मङ्सिर २८ गतेदेखि हुने सङ्घीय संसद्को अधिवेशनमा एमालेले अवरोधका कार्यक्रमलाई निरन्तरता दिने पनि उनले बताए । पार्टीले कारबाहीको सिफारिस गरेका सांसदहरूलाई कायम राखेर सदन चल्न नसक्ने अडान पार्टीको यथावत रहेको उनले बताए । उनले न्याय क्षेत्रको समस्या समाधान कुनै व्यक्तिलाई कायम राखेर वा हटाएर मात्रै नहुने नेता ज्ञवालीले बताए।
न्याय क्षेत्र सुधार आवश्यक रहेको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले सर्वोच्चलाई दिइएको सुझाव प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा जोड दिए । न्यायालको विचलनले मुलुकको लोकतन्त्र विचलित हुने भन्दै उनले समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताए ।