काठमाडौं । मानिसको जीवन न हो, कहाँ कतिबेला गएर ठक्कर खाने हो कसलाई पो थाहा हुन्छ र ? भनिन्छ नि, अन्नपानीको शरीर, अन्नपानी नै भएन भने कसरी बाच्ने ? अथवा अन्नपानी नै खाएर बाँच्ने मानव शरीरले अन्नपानी नै पचाउन छोड्यो भने मानिसको हालत कस्तो होला ? यस्तो हालत हुँदा आफूसँग आफ्नो शरीर ठिक पार्नलाई उपचार गर्ने पैसा नभए के होला ? सोच्दा र सम्झिंदा पनि हामीमध्ये धेरैलाई कहाली लाग्ने हुनसक्छ । यस्तो अवस्था अहिले रोल्पा सुनछहरी गाउँपालिका वडा नम्बर ३ गामका कुमान सिंह घर्तीमगरलाई आइपरेको छ ।
४१ वर्षको, केहि गरौँ, भविष्य बनाऊँ, छोराछोरीको पढाई लेखाईलाई व्यवस्थित गरौँ भन्ने कलकलाउँदो उमेरमा गामका घर्ती अहिले आफै आफ्नो बिरामी शरीरलाई कसरी के पैसाले उपचार गरेर घर फर्कने भनेर पिर चिन्तामा वीर अस्पतालको शैयामा टोलाइरहेका छन् ।
झण्डै दुई वर्षदेखि खाएको खाना नपच्ने, खाएको खाना मुखबाट फिर्ता आइहाल्ने, खाना खान बित्तिकै बान्ता भएर रगत समेत बान्ता हुने समस्याले पिरोलिएका घर्तीमगरलाई बिरामी हुँदै जाँदा उनकी श्रीमतीले छोडेर अर्को पोई समातेर पोइल गइन् । ३ छोरी र एकछोरालाई सम्हाल्दै आफ्नो बिरामी शरीरलाई धान्दै गरेर उनले दुर्गम रोल्पामा समय व्यतित गर्न थाले ।
श्रीमतीले छोडेर गएपछि बिरामी शरीरले बालक छोराछोरीहरुको लालन पालन गर्न नै उनलाई धौधौ भयो । उनका भाइबहिनी र आफन्त पनि टाढा हुँदै गए । जेठी बहिनीले आफना दाजू बिरामी भएको र त्यस्तो अवस्था भएको थाहा पाएर आफैले पहल गरेर एक वर्ष पहिले बुटवलमा उपाचार गराउन ल्याइन् ।
विश्वव्यापी महामारीको रुपमा छाएको कोरोना कहरको समयमा कुमानसिंह घर्तीमगरकी बहिनी पवित्रा घर्तीमगरले आफ्नो घरबाट आई यताउता गरेर अलीअलि पैसा जुटाएर आफ्नो बिरामी दाईलाई उपचार गराउन बुटवलसम्म ल्याइन् । बुटवलको एक निजी अस्पतालमा उपचार गराउदा गराउँदै बिरामीलाई कोरोना संक्रमण देखियो । बिरामीको शल्यकृया गर्ने अघिल्लो दिन उनलाई कोरोना संक्रमण देखिएको भन्दै अस्पतालले उनको शल्यकृया गरेन । एक त एउटा बिरामी त्यसमा झन्न् अर्को कोरोना थपिएर कुमानलाई थप समस्या आइपर्यो । कोरोना निको होउन्जेल भनेर उनीहरु अस्पतालबाट घर गए ।
थप एकवर्ष घरमै पिडामै बित्यो कुमान घर्तीमगरको । व्यथाले च्याप्दै लगेपछि करिब तीन महिना पहिले आफ्ना दाजूलाई पवित्राले फेरि काठमाडौंको अस्पतालमा उपचार गराउन ल्याइन् । पवित्राले दाईलाई अस्पतालसम्म त पुर्याइन् तर उपचार गरि बिरामीलाई निको बनाएर घर फर्काउने पैसाको अभाव भयो । अस्पतालका अनुसार उनको लिभरले काम गरेको छैन । एक डाक्टरले गोलखबर डटकमलाई जानकारी दिए अनुसार उनको लिभरमा समस्या देखिएको छ भने खाना नली र आमाशयबीचमा ठूलो समस्या रहेको देखिन्छ । अहिले पनि बिरामी कुमानले खाएको खाना जस्ताको तस्तै बान्ता भएर बाहिर आइहाल्ने गर्छ ।बान्ता हुँदाहुँदा उनको शरीरबाट रगत समेत बाहिर निस्कने गर्छ ।
आफ्नो जीवनको अहिलेसमको सबैभन्दा ठूलो समस्यासँग जुधिरहेका कुमान कोही दाताहरुले पैसा दान गरेर आफ्नो जीवन बचाइदिन्छन कि भन्ने आशा पालेर अस्पतालको शैयामा टोलाइरहेका छन्न् ।