काठमाडौं । आज बसेको नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकबाट १५ वटा कार्यसूची तय गरिएको छ ।
दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकमा यति धेरै कार्यसूची तय गर्दै महाधिवेशनपछि सङ्गठनात्मक क्षेत्रमा सक्रियता देखाएको हो ।
सो पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा बाँकी केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, केन्द्रीय सल्लाहकार परिषद् गठन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, जिल्ला र प्रदेश कमिटीको अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, नेताको कार्यविभाजन र वरियताक्रम निर्धारण, जनसङ्गठनको सुदृढीकरण अभियानलाई कार्यसूचीमा राखिएको जानकारी दिए ।
सो पार्टीको दशौँ महाधिवेशनले निर्वाचित गरेको ३०१ सदस्यीय कमिटीमा १० प्रतिशतसम्म मनोनयन हुने व्यवस्था छ। यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा एमालेको महाधिवेशन भएको थियो ।