• फाल्गुन २८ २०८२, बिहीबार

एमसिसी कुनै हालतमा पास गर्न दिँदैनौँ : सिपी गजुरेल

मंसिर २२ २०७८, बुधबार

काठमाडौँ। मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का नेता सिपी गजुरेलले एमसिसी कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गजुरेलले आफूहरू जनताको साथमा रहेकोले एमसिसी कुनै पनि हालतमा पास नहुने बताएका हुन्।

उनले एमसिसी सच्चा देशभक्त र विदेशी दलालको बारेमा पर्दाफास गर्ने रेखा हुने पनि बताए। उनले हरेक नागरिकहरुले अब देशभक्त भएर उभिने वा विदेशी दलालको साथ दिने भन्ने कुरा अत्मसाथ गर्नुपर्ने बेला आएको बताए।

नेता गजुरेलले अहिले एमसिसीको कारण जनतामा आक्रोश पैदा भएको र जनताको आक्रोशलाई क्रान्तिमा बदल्नुपर्ने बताए। उनले एमसिसी भनेको अधिकांश नेपालीहरुले चाहेको विषय नभएकोले क्रान्तिकारी भएको नाताले यसमा हस्तक्षेप गर्नुपरेको पनि स्पष्ट पारे।

नेता गजुरेलले भने, ‘शक्ति सन्तुलनमा पश्चगामी शक्ति हाबी भयो भने यो भन्दा पनि पश्चदमन पनि हुने हो कि। अहिलेको शक्ति सन्तुलनमा क्रान्तिकारी, अग्रगामी शक्तिहरु बलियो भयो भने त्यो परिवर्तन अग्रगामी हुनसक्छ। अब हामी प्राक्टिसमा हेर्ने हो को देशभक्त, को विदेशी दलाल? अब सबैलाई एउटा रेखा कोरिदिने भयो। किनभने जानेर, बुझेर कसैले पनि गद्दार हुँ भन्दैन। म अमेरिका, भारतको दलाल हुँ भनेर संसारमा कसैले पनि भन्दैन। तर, सच्चा देशभक्त हो कि होइन अब टेष्ट हुँदैछ।एमसिसीले ध्रुवीकरण ल्याइदिएको छ, यो आशंका र असन्तोषलाई स्पष्ट पार्दै फेरि क्रान्तिकारी आन्दोलनद्वारा नै जनतलाई चेतना दिँदै अघि बढ्नुपर्छ। आँखा चिम्लिएर नभई तथ्यबाट सत्य पत्ता लगाउने हाम्रो सिद्धान्त हो। यसलाई पास गर्न हामी दिँदैनौँ।’

नेता गजुरेलले क्रान्तिकारी आन्दोलनबाट नै जनतालाई चेतना दिँदै अघि बढेर एमसिसी पास हुन नदिने बताए। उनले एमसिसीका कारण देशमा अस्थिरता पैदा भएको भन्दै शक्ति सन्तुलनमा पश्चागामी शक्ति हाबी भए पश्चागमन हुन सक्ने उनको भनाइ थियो।