काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्ने कानुन बन्न नदिएको आरोप लगाएका छन्।
पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणका अपराधीहरूलाई कारवाही गर्नका लागि आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले ल्याएको अध्यादेश संसदबाट पारित गर्न नदिएको आरोप लगाए।
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू महिला विभागले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एसिड आक्रमणमा परेका पीडितहरुलाई न्याय दिने काममा समेत सरकारले कानुन बन्न नदिएर अवरोध सृजना गरिरहेको बताए। वरिष्ठ उपाध्यक्ष पोखरेलले महिला हिंसा हुन नदिनका लागि विद्यार्थी संगठनहरुले सरकारलाई दबाब दिनुपर्ने आवश्यक्ता समेत औंल्याए ।
उनले महिला हिंसा अन्त्यका लागि राजनीतिक अभियान नै संचालन गर्नुपर्ने भन्दै त्यसका लागि अनेरास्ववियुले सामाजिक जागरण अभियान संचालन गर्नुपर्ने बताए ।
‘एउटै मात्रै म दृष्टान्त दिन्छु एसिड आक्रमण गर्नेहरूमाथि सजाय गर्नुपर्छ भनेर त्यो एउटा गम्भिर अपराधको रुपमा लिनुपर्छ र दण्डित गर्नुपर्छ भनेर हामीले संसद नचलेको बेला अध्यादेश ल्यायौं। अनि यो गठबन्धनकारीहरुले त्यो अध्यादेशलाई प्रस्तुत गर्न समेत दिएनन्। उनले भने, ‘जसले गर्दा यो एसिड आक्रमणमा परेका पीडितहरूको न्याय पाउने कुरालाई कसरी अवरोध सृजना गरियो। यो त एउटा दृष्टान्त मात्रै हो । यस्ता धेरै कुरा छन् नि !’
वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको राजनीतिक परिवर्तनलाई जोगाउन पनि सामाजिक जागरणको अभियानलाई तीव्रता दिएर समाजवादको आधार निर्माण गर्न केन्द्रित हुनुपर्नेमा जोड दिए ।