काठमाडौं । नेपाल सरकार र अमेरिकी एमसीसी संस्थाका बीचमा भएको सम्झौता लागू गर्नु हुँदैन भन्दै यसका विरुद्धमा आन्दोलन गर्दै आएका ८ राजनीतिक दलहरुले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
विरोधका कार्यक्रम अन्तरगत यही मंसीर २७ गते काठमाडौंमा रहेको एममसीसीको कार्यालय घेराउ गर्ने, मंसीर २८ गते संसद भवन घेराउ गर्ने, मंसीर २४ देखि २६ सम्म विभिन्न राजनीतिक दलहरुले आयोजना गरेका एमसीसी विरोधी कार्यक्रमहरुमा सहभागी भई सशक्त भूमिका निर्वाह गर्ने र आगामी परिस्थतिलाई हेरेर थप कार्यक्रमको विकास गर्ने लगायतका कार्यक्रमहरु रहेकाछन्
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंहको नेकपा मसाल, विप्लव नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, सिपी गजुरेल नेतृत्वको जनगणतान्त्रिक मोर्चा, सीपी मैनालीको नेकपा माले, ऋषि कट्टेल नेतृत्वको नेकपा र चित्रबहादु केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले विरोध कार्यक्रमको आयोजना गरेका हुन् ।
संयुक्त विज्ञप्ति मार्फत् उनीहरुले एमसीसीले परियोजनाले नेपालको सार्वभौम सत्ता र अखण्डतामा आँच आउने भएको यसलाई कुनैपनि हालतमा नेपालको संसदबाट पास गर्न नह्नेमा जोड दिएका छन् । संसदमा रहेका सत्तारुढ कांग्रेस एमीसी पास गर्नुपर्नेमा देखिएको छ भने केपी ओलीको एमाले पार्टीमा यसका बारेमा मत भिन्नता छन् ।
ओली एमसीसी पास गर्ने पक्षमा रहेका छन् भने भीम रावल लगायतका नेताहरु पास गर्न नहुनेमा देखिंदै आएका छन् । यस्तै माओवादी केन्द्रमा पनि ठूलो हिस्सा एमसीसी पास गर्न नहुनेमा देखिएका छन् । नेपालको बौद्धिक वर्ग तथा विभिन्न संघसंस्था तथा स्वतन्त्र व्यक्तिहरुले एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने बरु यसलाई नेपालबाट फिर्ता पठाउनु पर्नेमा जोड दिँदै आएका छन् ।
यता देउवा सरकारले मंसीर २८ गते संसदबाट एमसीसी पास गर्ने तयारीमा गररहेको छ भने आगामी डिसेम्बर १३ तारिकमा अमेरिकाको न्यूयोर्कमा एमसीसीको बैठक बस्दैछ । ८ राजनीतिक पार्टीहरुले एमसीसी पास गर्न खोज्ने विदेशीका मतियारहरुलाई जनताले नछोड्ने चेतावनी पनि दिएका छन् ।