काठमाडौं । काबुलमा तालिवानको पुनरागमनपछि रिसाएको भारतले अहिले आएर आफ्नो अफ्गान कुटनीतिमा केही परिवर्तन ल्याएको देखिएको छ । अफ्गानी जनताको भोकमरीका कारण बिग्रनसक्ने स्वास्थ्य स्थितिलाई ख्याल गर्दै सहयोगका लागि भारतले ३५ हजार क्विन्टल गहुँ काबुल पठाउने निर्णय गरेपछि पछिल्लो समयमा दिल्ली काबुलसँगको सम्बन्धमा सुधार ल्याउन इच्छुक देखिएको हो ।
काबुलमा उक्त गहुँ पठाउनका लागि स्थल मार्ग प्रयोग गर्ने भारतको चाहना रहेको खुलाएको छ । गहुँ पठाउनका लागि पाकिस्तानको बाटो प्रयोग गर्न दिनका लागि दिल्लीले स्लामावादलाई अनुरोध गरेपछि सो कुरा खुलेको हो ।
अहिले अफगानिस्तानमा भारतीय कुटनीतिक नियोग छैन । काबुलमा तालिवानको पुनरागमनसँगै भारतले आफ्नो कुटनीतिक नियोग काबुलबाट फिर्ता बोलाएको हो । अमेरिकाले आफ्नो नियोग फिर्तागरेसँगै भारतले पनि उक्त बदम चालेको थियो ।
अफ्गानिस्तानमा गहुँ पठाउने भनेर भारतले एउटा ढुंगाले दुईवटा चरा मार्ने प्रयास गरेको छ । त्यो हो, आफ्गानिस्तानसँग त सम्बन्ध बन्छ नै, त्यसका साथै गहुँ पठाउनका लागि भनेर पाकिस्तानसँगको सम्बन्ध अप्रत्यक्ष रुपमा खुला गर्न चाहनु ।
तर पाकिस्तानले बाटो दिने वा नदिने निर्णय गरिसकेको छैन । उता अफ्गानिस्तानले गहुँ लिन चाहन्छ कि चाहदैन त्यो स्पष्ट पनि भएको छैन । तर एशियाका लागि एक रणनीतिक बाटो वा घाँटी भएकाले पनि दिल्ली अफ्गानसँगको सम्बन्ध नवीकरण गर्ने पक्षमा देखिएको छ ।