विश्वमा जलवायु परिवर्तनका कारण निकै दुःख पाउने देशहरुमा नेपाल चौथो नम्बरमा पर्छ । यसको प्रमुख कारण यसको प्राकृतिक अवस्थिति हो । प्राकृतिक हिसाबले विश्वमा सबैभन्दा पछिल्लो समयमा निर्माण भएको हो नेपाल । यो भारतीय तथा तिब्बती प्लेटको आपसी जुधाइका कारण टेथिस सागर उठ्नगै निर्माण भएको हो ।
अति अग्ला पहाड निर्माण हुनुका कारण यसले हिमश्रृंखलाको रुप धारण गरेको हो । नेपाल लगायतका हिमाली देशका प्राणका रुपमा रहेको पूर्व–पश्चिम फैलिएको हिमश्रृंखला जलवायु परिवर्तनका कारण कालापत्थरमा परिणत हुँदै गैरहेका छन् । नेपाल यसबाट निकै बढी प्रभावित हुने वैज्ञानिकहरुको तर्क रहेको छ ।
पग्लदै गैरहेको हिमश्रृंखला :
हिमालय श्रृंखलाको लामो र सबैभन्दा ठूलो भाग नेपालमा रहेको छ । यहाँका वनस्पति तथा जन्तुजनावर र पंक्षीहरु पनि यसैले निर्माण गरेको प्राकृतिक विशिष्टतामा निभैर रहेका छन् । तर अहिले यो हिम श्रृंखला नै पग्लँदै गैरहेको छ ।
पहिले ग्लेसियर (हिमनदी) बगेका ठाउँहरुमा अहिले विसालकाय तालहरु देखिन थालेका छन् । हिमाल आरोहणलाई आफ्नो पेसा बनाएका शेर्पाहरुको क्यामेरामा कैद भएका यस्ता दृश्यहरुले हामीहरुलाई जलवायु परिवर्तनका कारण वर्षेनी हिउँ पग्लँदै गैरहेको प्रमाण दिएका छन् ।
बेलायतको नेतृत्वमा चलेको औद्योगिक कालभन्दा अहिले पृथ्वीको तापक्रम १.५ डिग्रीले बढिसकेको छ । यो क्रम रोकिएको छैन । बरु विश्व तापमान बढ्दै गैरहेकाले हिमाल पग्लिइरहेको छ । यो जोखिम बेहोर्नेमा नेपाल पहिलो नम्बरमा पर्छ । यसैका कारण अहिले खाने पानीका मूल र नदीहरु सुक्न थालिसकेका छन् ।
बेमौसमी वर्षा :
विश्व तापमान बृद्धिका कारण नेपालमा बेमौसमी वर्षा हुन थालेको छ । यो वर्षाले नेपालमा ठूलो धनजनको क्षति पुर्याउने देखिएको छ । यो वर्ष मात्र बेमौसमी वर्षाले किसानको आर्थिक जीवन तहसनहस पारिदिएको छ ।
नेपालको प्राकृतिक भौगोलिक बनौटका कारण पनि यसो हुन गएको हो । उत्तरमा अग्लो हिमाल, बीचमा महाभारत र दक्षिणमा चुरे पर्वत तथा तराइको सम्मपरेको मैदानी भाग भएकाले पनि उपल्लो तटीय समस्याले सँगसँगै तल्लो तटीय समस्या निम्त्याउने गरेको छ । बेमौसमी वर्षाका कारण पहाडमा पहिरो जानु र तराइमा धान बाली नष्ट हुनु यसैको ज्वलन्त उदाहरण हो ।
भूकम्पको निरन्तर धक्का :
जलवायु परिवर्तनका कारण महासागरको जलसतह बढ्दै जानु र त्यसको चाप र प्रवाहका कारण पृथ्वीमा हालसम्म कायम रहँदै आएको प्राकृतिक सन्तुलनमा परिवर्तन आउनुका कारणले भारतीय प्लेटमा केही बढी धक्का र कम्पन महसुस हुन थालेको वैज्ञानिकहरुले बताइरहेका छन् ।
भारतीय प्लेटमा आउने धक्काले तिब्बती प्लेटमा केही न केही असर पार्ने गर्दछ । यसले पनि नेपालमा भूकम्पको अनुभूति गराइरहेको हुन्छ ।
बढ्दो शीत लहर :
नेपालमा पहिले आउने शीत लहर कुनै निस्चित ठाउँमा र छोटो समयमा आउने र जाने गरेको थियो । तर अहिले नेपालमा हप्तौं शीत लहर चल्न थालेको छ । यसले ठूलो पैमानाको क्षेत्रमा प्रभाव पार्ने र यसको शीत पर्ने र ठण्डी गराउने प्रकृतिमा पनि निकै फेरबदल आएको छ ।
पहिलेको जस्तो आगो तापेर अनि वातानुकूलन बनाएर लामो समय टिक्न सक्ने स्थिति पनि अबका दिनमा कठिन हुँदै जाने देखिएको छ । यो जलवायु परिवर्तनको असरका कारण हुन गएको हो ।
आकस्मिक आँधी :
नेपालमा बेलाबेलामा आकस्मिक चक्रवाती आँधी आउने र बस्ती उजाड बनाउने गरेको छ । यसको प्रमुख कारण भनेको जलवायु परिवर्तन नै हो । यो आँधी पहाडी तथा हिमाली क्षेत्रमा भन्दा पनि तराइको मैदानी भागमा पुग्दा बढी विनासकारी हुने गरेको छ ।
पछिल्लो समयमा निकै तीब्र रुपमा हुँदै गैरहेको जलवायु परिवर्तनका कारण नेपालमा यस्तोखाले चक्रवाती आँधी देखिन थालेको हो ।
भारतजस्ता देशहरुमा जलवायु परिवर्तनका कारण हुँदै गैरहेको मरुभूमिकरणका कारण त्यहाँको हावा तातेर आकाशमा गई वायुको चाप निकै कम हुने र नेपालको हिमाल नजिकको रहेका क्षेत्रबाट त्यो न्युनचाप परिपूर्ति गर्न बायु हुर्रिएर जाँदा यस्ता चक्रवाती आँधी आउने गरेका छन् ।
अर्कोतिर भारतकै विसाल समुद्र तटीय इलाका तथा बंगलादेशबाट वायु हुर्रिएर नेपालको क्षेत्रभित्र प्रवेश गर्नाले पनि यस्ता विनासकारी चक्रवाती आँधी आउन थालेका छन् । यो पनि जलवायु परिवर्तनकै कारणले गर्दा हुन गएको हो ।
वनमा डढेलो :
जलवायु परिवर्तनका कारण जमिनमा हुनु पर्ने चिस्यान अभावका कारण पनि जंगलमा अकल्पनीय रुपमा डढेलो लाग्ने गरेको छ । नेपालका हिमाली जिल्लामा पनि महिनौ यस्ता डढेलो लाग्ने गरिरहेका छन् ।
पृथ्वीले आफूलाई बचाउनका लागि दिनमा सूर्यको ताप सोस्ने र रातमा पृथ्वीको गहिरो सतहबाट पानीको मात्रा यसको बाहिरी सतहमा प्रवाह गरी रुख तथा विरुवामा सिंचाइ गर्ने प्राकृतिक प्रणाली सञ्चालन गरिरहेको हुन्छ ।
तर जलवायु परिवर्तनका कारण पछिल्लो सायमा यो प्राकृतिक सञ्चालनमा रुकावट आउँदै जान थालेको छ । यसले गर्दा पृथ्वीको सतह निकै सुख्खा र डढेलोमैत्री हुँदै गैरहेको छ । यसै कारणले पनि हिमाल, पहाडदेखि तराइका चारकोसे झाडीमा महिनौसम्म डढेलो लाग्ने गरिरहेका छन् ।
पहिरो र डुवान :
जलवायु परिवर्तनले निम्त्याएको विनासको अर्को प्रकार भनेको पहिरो र डुबानको समस्या हो । विश्व आज यो समस्याबाट गुज्रदा नेपाल त्यसको निकै ठूलो चाप र त्रासमा छ । वर्षेनी जाने डरलाग्दा पहिरोले पहाडमा जनजीवन अस्तव्यस्त बनाइरहेका छन् ।
पहाडमा जाने पहिरोले तराइमा डुबानको समस्या निम्त्याइरहेको छ । त्यहाँका बस्तीहरुका साथै बालीनालीमाथि ठूलो असर पुर्याइरहेका छन् । नेपालको सन्दर्भमा जलवायु परिवर्तनले निम्त्याएको यो समस्या उपल्लो तटीय र तल्लो तटीय अन्तरनिर्भरताका रुपमा देखा परिरहेको छ ।
‘लु’ वा तातो वायु :
जलवायु परिवर्तनले नेपालमा निम्त्याउन सक्ने अर्को समस्या हो लु वा तातो बायु । यो समस्या नेपालका लागि प्रमुख समस्या बनेर आएको छैन । तर पनि यो नेपालका लागि एक संभाव्य जोखिम हो ।
यसबाट बच्नका लागि नेपालले संभाव्य उपायको खोजी अहिले देखि नै गर्नु पर्छ ।
निष्कर्ष :
मासिलाई चाहिने पहिलो कुरा पानी हो । तर नेपालमा हिमाली टावरका रुपमा रहेको पानीको स्रोत हिमालय जलवायु परिवर्तनका कारण हर सेकेण्ड पग्लँदै गैरहेको छ । यसका कारण खानेपानीका मूल सुकेर गैरहेका छन् । नदीमा पानीको प्रवाह घट्दो छ ।
हिमाल सुकेर काला पत्थरमा परिणत हुने हो भने सिंचाइको त कुरै छाडौं यहाँ खानका लागि पानी समेत पाइने छैन । वन्य जन्तु र वनस्पतिका सबै प्रजाति नस्ट भैसक्ने छन् । नदीहरु सुख्खा हुने छन् ।
यस्तो अवस्थामा नेपालबाट कि त मानिस लोप हुनुपर्ने कि त बसाइसराइ गर्नु पर्ने अवस्था सिर्जना हुने देखिन्छ ।