कुनै समयमा भियतनामका राष्ट्रपति हो चि मिन्ह भारत भ्रमणमा आएका थिए । सो भ्रमणको समयमा भएको एउटा बैठकका क्रममा भारतका मन्त्रीहरुसँग उनको कुराकानी हुन थाल्यो । सम्वादका क्रममा हो चि मिन्हले भारतीय मन्त्रीहरुलाई सोधे, तपाईंहरु के काम गर्नु हुन्छ ? भारतीय मन्त्रीहरुले सहज रुपमा जवाफ दिए–‘हामीहरु राजनीति गर्छौं ।’ हो चि मिन्हले यो उत्तर बुझ्न सकेनन् । उनले फेरि सोधे, मेरो मतलव तपाईंहरुको पेसा के हो ? भारतीय मन्त्रीहरुले जवाफ दिए,‘राजनीति नै हाम्रो पेसा हो ।’
हो चि मिन्हले अलिक चिढिंदै भने,‘सायद तपाईंहरुले मेरो भनाइको मतलब बुझ्न सक्नु भएन । राजनीति त म पनि गर्छु तर पेसाले म किसान हुँ, म खेति गर्छु । खेतिबाटै मेरो जीविका चल्छ । बिहान बेलुका म आफ्नो खेतमा काम गर्छु र दिउसो राष्ट्रपतिको रुपमा आफ्नो दायित्व निर्वाह गर्छु ।’
यो कुरा सुनेर भारतीय प्रतिनिधिमण्डल स्तब्ध भयो । उनीहरुसँग यो कुराको कुनै जवाफ नै थिएन । अनि फेरि हो चि मिन्हले त्यहि कुरा सोधे पछि एकजना भारतीय मन्त्रीले लज्जित हुँदै भने ‘राजनीति गर्नु नै हामी सबैको पेसा हो ।’
आज नेपालको अवस्था नै भारतको भन्दा खासै फरक छैन । यहाँ पनि राजनीतिलाई आफ्नो मूल पेसा बनाउने व्यक्तिहरुकै हालीमुहाली छ । राजनीति कसैको पनि मूल पेसा हुन सक्दैन र बनाउनु पनि हुँदैन । जीविकाको लागि व्यक्तिले केहिकेहि काम गर्ने पर्छ । मान्छे किसान, मजदुर, ब्यापारी, कर्मचारी, शिक्षक, डाक्टर, इन्जिनियर वा अरु केहि हुन सक्छ तर उसको पेसा राजनीति हुनुहुँदैन । किन कि राजनीति व्यक्तिको भरणपोषण गर्ने पूर्णकालीन पेसा होइन । कसैले राजनीति गर्न चाहन्छ भने आफ्नो ब्यवसायिक कामबाट केहि सयम छुट्टाएर राजनीति गरे उत्तम हुनेथियो ।
नेपालका पूर्वराष्ट्रपति रामवरण यादव आफ्नो पदबाट निवृत भएपछि उनले एउटा क्लिनिक खोलेर बस्दा के बिग्रिने थियो र ? उनको गरिमा अझ उच्च हुने थियो । त्यस्तै डा. बाबुराम भट्टराई प्रधानमन्त्रीबाट हट्नासाथ कुनै विश्वविद्यालयमा पढाउनु जानु पर्थ्यो । त्यसैगरि सुवासचन्द्र नेम्बाङ्गले फेरि अदालतमा बहस गर्न फर्किंदा उनको साथै पेसाको गरिमा पनि बढ्ने थियो । साथै अरु राजनीतिकर्मी पनि आफू पहिला जे पेसाबाट राजनीतिमा आएका हुन् त्यसैमा फर्किंदा उचित हुने थियो ।
राजनीतिलाई व्यक्तिको जीविकाको श्रोत बन्न नदिने हो भने राजनीतिमा भ्रष्टाचार धेरै हदसम्म नियन्त्रण हुने थियो । र राजनीतिमा दशकौंसम्म एउटै ब्यक्ति हावी रहने वातावरणको पनि अन्त्य हुनेथियो । जसका कारण राजनीति जमेको फोहरी पोखरी बन्ने थिएन । राजनीतिमा एउटा व्यक्ति एक वा दुई कार्यकाल सेवा गरेर सक्रिय राजनीतिबाट सन्यास लिनेथियो र अर्को नयाँ अनुहार त्यो ठाउँमा पुग्ने थियो र उसले केही नयाँ काम गरेर देखाउन सक्थ्यो ।
त्यसकारण अब नेपाली जनताले यो कुरा बुझ्न जरुरी भइसकेको छ । त्यसकारण कुनै व्यक्तिले मेरो पेसा राजनीति वा समाजसेवा हो भनेर भन्छ भने त्यस्ता नटवरलालसँग सतर्क रहनु नै उपयुक्त हुनेछ ।