• फाल्गुन २८ २०८२, बिहीबार

प्रधानन्यायाधीश हटाउँदैमा न्यायालय सुध्रिदैन : ओली

मंसिर २१ २०७८, मंगलवार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीशको बहिर्गमनले मात्रै न्यायालयको समस्या समाधान नहुने बताएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा​लाई महाअभियोगका लागि सहयोग गर्न बालकोट पुगेका नेपाल बार एशोसियसनका पदाधिकारी तथा कानुन व्यवसायीसँग ओलीले न्यायालयको सुधारका लागि आफू भने प्रतिवद्ध रहेको बताए।

‘चोलेन्द्र शम्शेर जबराले राजीनामा दिँदैमा न्यायालय सच्याउने कुराको सुरुवात हुँदैन, जहाँ सुरु हुन्छ त्यहिँ अन्त्य हुन्छ’, ओलीले भने, ‘यदि साँच्चै न्यायालय सुधार गर्ने हो भने यसलाई अलि पूर्णता दिनुस् त्यसतर्फ हाम्रो साथ हुन्छ। तपाईंहरुले उठाएको विषय २० प्रतिशत भयो यसलाई शतप्रतिशत बनाएर अघि बढौं।’

उनले आफूलाई प्रधानमन्त्री बनाइदिएर गुन लगाइदिएकोले शेरबहादुर देउवा नै प्रधानन्यायाधीश हटाउने पक्षमा नरहेको बताए।

‘तपाईहरु गिभ एण्ड टेकको कुरा गर्नुहुन्छ, प्रधानन्यायाधीशका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको प्रसङ्ग उठाउँदै ओलीले भने, जसले बनाएको हो उसैले हाम्रो कार्यकर्ता हो भनिरहेका छन्, गठबन्धनका नेताहरुले पनि लेनदेन होइन भनिरहेका छन्। उहाँहरु कसरी महाअभियोग लगाउनुहुन्छ ?

ओलीले संसद पुनर्स्थापनामा परमादेश जारी गर्ने सबै न्यायाधीशले पद छाड्नुपर्ने संकेत गरे। उनले न्यायालय अहिले स्वच्छ र निष्पक्ष दुवै नभएको जिकिर गरे ।