बैतडी । सरकारले बैतडीमा पहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत वितरण गरेको छ ।
गत कात्तिक पहिलो साता पहिरोमा परेर मृत्यु भएका शिवनाथ गाउँपालिकाका दुई र सूर्नया गाउँपालिकाका एक परिवारलाई गरी रु सात लाख नगद राहत वितरण गरिएको हो ।
पहिरामा परेर शिवनाथमा एकै परिवारका दुई गरी तीन र सूर्नयामा एक जनाको गरी चार जनाको मृत्यु भएको थियो । चारै जनालाई सरकारका तर्फबाट राहतस्वरूप नगद रु सात लाख उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिएका छन् । सरकारले प्रत्येक मृतकका परिवारलाई रु दुई लाखका दरले राहत दिने र सोही परिवारका अरु सदस्यको पनि मृत्यु भएमा थप एक/एक लाख दिने घोषणा गरेको थियो ।
शिवनाथ–६ बसेडीका एउटै परिवारका भएकाले भानु पार्की र देवानी पार्कीलाई रु तीन लाख तथा र पवित्रा पार्कीको परिवारलाई दुई लाख राहत उपलब्ध गराइएको हो । यस्तै सुर्नया–५ रामकी बरायलकी परुदेवी महराको परिवारलाई दुई लाख राहत दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरु सबैलाई घरमै पुगेर राहत प्रदान गरिएको सूचना अधिकारी भारतीले बताए ।