मकवानपुर । काँग्रेसको बागमती प्रदेशका सभापतिका प्रत्यासी जगदीश्वर नरसिंह केसीले वीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त, आदर्श र निष्ठा काँग्रेसमा समाप्त भएको टिप्पणी गरेका छन् ।
उनले सोमबार सञ्चारमाध्यमसित कुरा गर्दै काँग्रेसको बागमती प्रदेश अधिवेशनमा देखिएका क्रियाकलापहरूबाट वीपीको सिद्धान्त, आदर्श र निष्ठा समाप्त भएको अनुभूति भएको र त्यसतर्फ कार्यकर्ताले सोच्नु पर्ने अवस्था आएको बताए ।
‘अहिलेको अधिवेशनले मैले अनुभव गरेको कुरा नेपाली काँग्रेसको वीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त, आदर्श, निष्ठा समाप्त भएको हो कि वा यसको मृत्युशैयामा, भेन्टिलेटरमा पुगेको हो कि भन्ने अनुभूति भएको छ,’ उनले भने, ‘यो परिस्थितिलाई प्रत्येक र आदर्शवान कार्यकर्ताले सोच्नुपर्ने बेला आएको छ ।’
उनले निर्वाचनको परिणामलाई सहजरुपमा स्वीकार गरेको भन्दै अधिवेशन निष्पक्ष र भयरहित हुन भने नसकेको बताए । सत्ता, शक्ति र पैसाको कारण आफू सभापतिको रेसबाट बाहिरिएको भए पनि काँग्रेसको चुरो मत आफ्नो पक्षमा रहेको उनले दाबी गरे ।
‘निर्वाचनको जे निर्णय आयो त्यसलाई प्रजातन्त्रवादी पार्टीको कार्यकर्ताले सहर्ष स्वीकार गरी अघि बढ्नुपर्छ । म सभापतिको रेसबाट बाहिरिँदा पनि मलाई धेरै निष्ठा र आदर्शवान साथीहरुको मत मलाई आएको छ,’ उनले भने, ‘काँग्रेसको चुरो मत मलाई आएको छ । सत्ता, शक्ति र पैसाको मत मभन्दा बाहिर गएको छ ।’
अधिवेशन निष्पक्ष, भयरहित हुन नसकेको अनुभूति आफूले गरेको उनको भनाइ छ । ‘यो परिस्थितिमा आएको निर्णयप्रति मैले सम्मान र स्वागत गर्नुपर्छ । म सभापतिमा पराजित भए पनि आगामी दिनमा प्रदेशभित्र अन्य ठाउँमा पनि आदर्शवान् कार्यकर्ता साथीहरुको मप्रतिको सहयोग, सद्भावलाई कायम राख्ने प्रयत्न गर्नेछु,’ केसीले भने ।