सामान्यतः अझै पनि महिलाका लागि चुलोचौकोमात्र हो भन्ने धारणा कायम छ । चुलोचौकोबाट धेरै पर महिलाहरु पुग्न सकेकी छैनन् भने हाम्रो समाजमा महिला शहिद भएको कुरा बिर्सिएको छ । माओवादी जनमुक्ति सेनाको सर्वोच्च सेनानीमा महिला पनि थिए भन्ने कुरा पनि बिर्सिएको छ । यस्तै प्रसंग छ, लेखिका खीमा रिजालको ।
उनी आफू १० वर्षे जनयुद्धमा होमिदा महिलाको महानताले छोएको मानसपटलमै भएको बताउछिन् । सानैदेखि लेखनमा रुची भएकी रिजाल पढ्दा पढ्दै जनयुद्धमा लागिन् । १० वर्षसम्मको संघर्षपछि जब शान्ति सम्झौता भयो अनि उनी घर फर्किइन् । घर फर्केपछि आफ्नो पढाइ र लेखाइलाई पुनःनिरन्तरता दिइन् ।
नेपाली साहित्य बजारमा उनका तीनवटा कृतिहरु आएका छन् । आफू कम्युनिष्ट हुनुको कारणदेखि जनयुद्धमा गएको बेला र त्यसपछिका आफ्नो जीवनका धेरै कुरा समेटेर २०७१ सालमा अविचलित यात्रा नामक कृति जन्माएपछि उनको औपचारिक साहित्य यात्रा सुरु हुन्छ । उनले २०७३ सालमा कालजयी योद्धा र २०७६ सालमा उज्यालोको खोजिमा संघर्षका पाइला बजारमा ल्याइन् ।
रिजालले आफ्ना तीनवटै कृतिहरु फरकफरक प्रकृतिका भएको बताइन् । जनयुद्धमा हुँदाका यादहरुमात्रले आफ्नो लेखनीलाई पूरा गर्न नसकेपछि उनका क्रमशः तीनवटा पुस्तकहरु बजारमा आए ।
‘मैले जनयुद्धमा आफू पनि सामेल हुँदा देखेका भोगेका कुराहरुलाई दस्तावेजका रुपमा लेखेकी हुँ । महिलाले प्रहरीको प्रेमी बनेर पुलिस चौकीको निरीक्षण गरेको, पहिलो महिला शहिद भएको, राज्यपक्षले विद्रोहीलाई खान खुवाएको भरमा महिलाहरु माथि गरेको बर्बर दमन, जेल ब्रेक गर्ने महिलाहरुको साहस, ढिंकीमा औंला कुट्दा समेत सुराकी नगर्ने महिलाहरुको बलीदानीदेखि जनमुक्ति सेनाको उच्च पदमा पुगेकी महिला सेनानीसम्मका बहादुर महिलाहरुको कथा लेखेँ ।’ उनले सुनाइन्, ‘यी पुस्तकहरु दस्तावेज हुन् । मैले उठाएका हरेक एक शिर्षकको अलग्गै कृति पनि हुन्छ । कहिले काहीँ त हतार गरेकी झैं पनि लाग्छ । अझ दस्तावेज थियो ढिलो गरेको भए मितिहरु बिर्सिने पनि हुन्थ्यो कि झैं पनि लाग्छ ।’
तेस्रो पुस्तकमा धेरै विषयको उठान मात्र गरेको उनको भनाइ छ । हरेक शिर्षकमा एउटा छुट्टै कृति हुने विषयवस्तु भए पनि आफूले दस्तावेजका लागि किताबमा सबै विषयहरु लेखेको उनको भनाइ छ । उनी लेखिकामात्र होइनन्, वकिल र मनोविद पनि हुन् ।
जनयुद्धबाट घर फर्किएपछि उनका पछिल्ला दैनिकीहरु मनोपरामर्शमै बितेका छन् । हरेक मानिसमा मनोसमस्या हुने गरेको उनको भनाइ छ । उनी जनयुद्धबाट प्रभावित, २०७२ सालको भूकम्पबाट प्रभावित तथा कोरोनाबाट प्रभावित भएर मानसिक समस्या भएकाहरुलाई उपचार गर्दै आएकी छन् ।
लेखनीको कुरा गर्दा अबको लेखनीमा मनोपरामर्श सम्बन्धी पुस्तक ल्याउने उनले सुनाइन् । उनले नेपाली गद्यात्मक आख्यानमा कलम चलाए पनि मनोपरामर्श सम्बन्धमा कलम चलाउने सोच बनाएकी छन् ।
‘हामीले अहिले यूरोपलगायतका देशहरुमा मनोपरामर्शमा भएको अध्ययन र अनुसन्धानलाई आधार बनाएर उपचार गर्दै आएका छौं ।’ रिजालले भनिन्, ‘हाम्रो देश र हामीले जहाँको अध्ययन अनुसार काम गरिरहेका छौं केही कुरा पनि मिल्दैन । अब त्यसरी गरेको उपचारको प्रभावकारिताको बारेमा मैले केही भनिरहनु पर्दैन । त्यसैले म नेपालमै भएका उपचारहरुको अध्ययन गरेर पुस्तक निकाल्नु पर्छ कि भन्ने सोचमा छु ।’
साहित्य र खोजमूलक लेखनले व्यक्तिको ज्ञानको दायरा अझै फराकिलो बनाउने उनको बुझाइ छ । ‘मैले तीनवटा पुस्तकहरु साहित्य भनेर लेखेँ । साहित्य लेख्दा र अहिले अनुसन्धानात्मक कृति लेख्दा म आफूलाई नै धेरै कुराहरु सिक्ने मौका पाएँ झैं लागेको छ । साहित्यमा कल्पना र यथार्थको संगमबाट नयाँ भाषा, शैली, शिल्प प्रयोग गर्न सकिन्छ भने खोजी लेखनमा त्यो सम्भव हुँदैन । धेरै फरक कुराहरु अध्ययन गर्नुपर्ने भएकाले आफैलाई अझै केही थप सिकेको अनुभूति भइरहन्छ ।’
साहित्य समाजको दर्पण भएको उनको बुझाई छ । उनी साहित्यले समाजलाई मार्ग निर्देशन गर्ने बताउँछिन् । ‘साहित्यले मार्ग दर्शनको काम गर्छ तर, मैले अब लेख्न लागेको कृति पनि समाजमा आवश्यक छ ।’
उनले भनिन्, ‘हामी अझै पनि आफूमा कस्तो खालको मनोरोग छ भन्ने कुराको जानकार छैनौं । हामीले जानकारी पाएको अवस्थामा पनि भन्न सकिरहेका छैनौं । म एक लेखिकाको नाताले मेरो कलमले लेख्ने हरेक कुरामा समाज विकास र समाजसेवा हुनुपर्छ भन्ने हो । त्यसैले अबको कृतिबाट हरेकले आफूमा कस्तो खालको समस्या छ र के गर्दा समस्या समाधान हुन्छ भन्ने बुझ्ने छन् । त्यसैले पनि साहित्यलाई यहीँ बिट मारेर खोजमूलक कृतिहरु लेख्ने जाँगर आएको हो ।