काठमाडौं । माओवादी प्रवक्ता कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा माओवादी पहिलो पार्टी हुने बताएका छन् । रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त पार्टीको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।
उनले अहिले आफ्नो पार्टी दुब्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा २०६४ कै अवस्थामा फर्कने बताए । अन्य दलमा जस्तो आफ्नो पार्टीमा आन्तरिक कलह नभएको स्पष्ट पार्दै उनले आदिवासी, जनजाति, घले, गुरूङ, सबै क्षेत्रको वृहत्तर हितका लागि आफ्नो पार्टी निरन्तर अगाडि बढ्ने बताए ।
माओवादीले ल्याएको जनहितकारी एजेण्डा पूरा गर्न बाँकी रहेकोले आफ्नो दललाई विजय गराउन उनले स्थानीय समुदाय माझ आग्रह पनि गरे । टुक्रिएर गएका बाबुराम भट्टराई, बैद्य, विप्लवहरुलाई एकता गराउन सौहार्द्रपूर्ण वातावरणमा वार्ता अगाडि बढिसकेकाले रसुवामा पनि अन्यत्र गएका सबै साथी छिट्टै मूलघारमै प्रवेश गरी नेकपा माओवादीलाई अत्यधिक मत दिएर उचाइमा पुर्याउने महराले विश्वास व्यक्त गरे ।
उद्घाटन सत्रमा काँग्रेस, नेकपा एमाले र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गर्ने ५२ जनालाई सम्मान गरिएको थियो । महराले आइतबार नै रसुवागढी नाकाको समेत स्थलगत अवलोकन गर्नुका साथै कोरोना सङ्क्रमणका कारण उत्पन्न असरका बारेमा समेत जानकारी लिए ।