• मंसिर ११ २०८१, मंगलवार

कोरोनाले ल्याएको क्रान्ति !

मंसिर १९ २०७८, आईतवार

कोरोना महामारी आफैमा विनासकारी भाइरस हो । सामान्य रुपमा हेर्दा यसले विनास मात्र निम्त्याएको छ भन्ने आमधारणा बनिसकेको छ । तर यसले विनाससँगै प्रतिरोध र विकासका नयाँ आयामहरुलाई मानव जातिका बीचमा पहिचान र प्रयोगमा अभ्यस्त बनाउँदै लगिरहेको छ भन्ने हामीले कमै ख्याल गरेका छौं ।

हालसम्मका सोच, प्रथा र प्रचलनमा कोरोना महामारीले नौलो खालको क्रमभङ्गता ल्याएको छ । मानिसको जीवनशैली र समग्र जीवनपद्धतिमा नै नयाँपन ल्याइदिएको छ । संसारका कुना कुनामा बसेको मानिस पनि आज विश्वमानव बन्न पुगेको छ ।

मानिसले आफ्नो जीवन कति संगीन, जटिल र कमजोर छ भन्ने कुरा बझ्न पाएको छ । हिजोसम्म बाघ, भालु, बम, बारुद र गोलीले मात्र मार्न सक्छ भन्ठान्ने मानिस आज आँखाले देख्नै नसकिने भाइरसले पनि मार्छ भन्ने कुरामा विश्वस्त हुन पुगेको छ ।
हिंजोसम्म पृथ्वीमा खसेको स्टेरोइड (छुद्र ग्रह) का कारण त्यतिबेला पृथ्वीमा रहेका भीमकाय जनावर डाइनोसरहरु लोप भएका थिए भनी एकोहोरो पढिरहेको मानिस आज ‘ती डाइनोसरहरु भाइरसका कारण लोप भएका हुन सक्छन्’ भनेर इतिहासको पुनरावलोकन गर्नुपर्ने ठाउँमा पुगिसकेको छ ।

मानिस अब विज्ञान प्रविधिको सहयोग लिएर इतिहासको पुनर्खोजी गर्ने अवस्थामा पुगेको छ । मोहनजोदाडो, हरप्पा र सिन्धुघाँटीमा भएको मानव सभ्याता विलोपीकरणका कारणहरु नयाँ सिराबाट खोजी गर्ने अवस्थामा पुगेको छ ।

कोभिड महामारीले मानिसलाई आफू, विश्व र ब्रह्माण्डको खोजी नयाँ तरिकाबाट तथ्यसंगत कारणसहित गर्नुपर्ने अवस्थामा पुर्याएको छ । मानिसका आफ्ना आनीबानीमा भिन्नता आइसकेका छन् । मास्कको प्रयोग, स्यानीटाइजरको प्रयोग, भौतिक दुरी कायम, अनावश्यक जमघट नुहुनु आदिलाई बाँच्ने अनिवार्य तरिकाका रुपमा स्थापित गरिदिएको छ ।
कोभिड महामारीले विश्वलाई सानो र पहुँचयोग्य बनाएको छ । यसका साथै, विश्व मानवताको समवेदना पनि जगाएको छ । मानिस वैश्विक प्राणी हो र यो अन्तर्राष्ट्रिय जाति पनि हो भन्ने भावनाको विकासमा बल पुर्याएको छ ।

अमेरिका, रुस, चीन, जापान, बेलायत, जर्मनी, फ्रान्स, भारत लगायतले खोपको खोज र विकास गरेर आफू र आफ्ना जनतालाई मात्र बचाउन सक्ने स्थिति छैन । किन कि भाइरसले मानिसले कोरेको राजनीतिक सीमा रेखा देख्दैन र स्वीकार पनि गर्दैन । त्यसैले विश्व स्वास्थ्य संगठनले भने झैं खोप तथा औषधि विश्वभरका मानिसमा समान रुपले वितरण गरिनु जरुरी हुन गएको छ ।

कोभिडको महामारीले विश्वभर शैक्षिक प्रणालीमा ठूलो क्रान्ति ल्याएको छ । साना नानीहरुदेखि सबै अनलाइन अध्ययनमा बानी परिसकेका छन् । विश्वमा डिजिटल सम्मेलन र सभाहरु भैरहेका छन् । विश्वभर अनलाइन मार्केटिङ कोभिड महामारीकै बेला फस्टाउन पुगेको छ ।

यो समयमा विज्ञान तथा प्रविधिका माध्यमबाट सामान्य जनता पनि एकअर्कामा साक्षत्कार हुन पाएका छन् । इन्टरनेटले विश्वका मानिसलाई एकै ठाउँमा समेटेर ‘ग्लोबल सोसाइटी’ निर्माणमा अघि बढाएको छ । सामाजिक सञ्जालका कारण सर्वसाधरण पनि अहिले निरक्षरताबाट साक्षरतातर्फ अघि बढिरहेका छन् ।

सूचना प्रवाहको माध्यमका रुपमा सामाजिक  सञ्जालको प्रयोग कोभिड महामारीका बेला अत्यधिक हुन गएको छ । महामारीले सामाजिक सञ्जाललाई ‘बुस्ट अप’ गरेर आमजनताका पहुँचमा पुर्याएको छ ।

संसारभर महामारी नियन्त्रणका लागि कोभिड अस्पतालहरु निर्माण भएका छन् । हरेक सामान्य अस्पतालमा एउटा न एउटा कोभिड वार्ड खोलिएको छ । विश्वमा कोभिड खोपको व्यापार नम्बर–१ को व्यापारमा अग्रसर भैरहेको छ । यो व्यापारको निकै नयाँ ट्रेन्ड हो ।

पशुलाई राखिने क्वारेन्टाइनमा अहिले मानिस आफै बस्न बाध्य भएको छ । यसको कारण हो, मानिसका हजार गल्ती र कमजोरीका कारण अहिले कोभिडको घातक महामारी संसारभर फैलिइरहेको छ । यसले क्वारेन्टाइनको अवधारणा आमजनतासम्म पुर्याएको छ ।

यी कुराहरुतिर फर्किएर एकैक्षणमात्र पनि घोत्लिन पुग्यौं भने कोरोना महामारीले मानव समाजमा क्रान्ति ल्याएको छ ।