• फाल्गुन २८ २०८२, बिहीबार

विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न सक्दैन : उपेन्द्र यादव

मंसिर १९ २०७८, आईतवार

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विकास र समृद्धिको बाधक विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने बताएका छन् ।

महोत्तरीको बर्दिवासमा आज आयोजित दलित समुदायको वर्तमान अवस्था समस्या र समाधान विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै अध्यक्ष यादवले जातीय भेदभाव, असमानता र विभेद रहेकोले मुलुकलाई समृद्ध बनाउन भेदभाव, असमानताको अन्त्य हुनुपर्ने बताए ।

दलित समुदायको पेशा, कला, संस्कृति उजागर भए दलित समुदाय स्वतःसमृद्ध हुने र यसबाट अधिकांश समस्या समाधान भएर जाने बताउदै अध्यक्ष यादवले त्यसतर्फ राज्यको ध्यान पुग्नुपर्ने बताए । वैदेशिक सँस्कृति अपनाइरहेसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने दावी गर्दै अध्यक्ष यादवले यहाँका कला र सँस्कृति जोगाउनु सबैको दायित्व हो भने । सामाजिक विकास मन्त्रालय, दलित विकास समिति र इनोभेटिभ रिसर्च एण्ड डेभलपमेन्टको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साह, राष्ट्रिय योजना आयोगका डा उमाशंकर प्रसाद, प्रदेश लोकसेवा आयोगका सुरेन्द्र यादव, दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठालगायतले बोलेका थिए ।

दुई दिनसम्म चल्ने गोष्ठीमा प्रदेश–२ का दलित समुदायको अगुवाको सहभागिता रहेको इनोभेटिभ रिसर्च एण्ड डेभलपमेन्टका विनोदकुमार विश्वकर्माले जानकारी दिए।