काठमाडौं । विश्वमा अहिले पनि कोइलाद्वारा सञ्चालित उद्योग तथा मेसिनहरु प्रयोगमा आइरहेका छन् । वातावरण प्रदुषणका हिसाबले र जंगल फँडानीका हिसाबले कोइला प्रयोगमा रोक लगाइनुपर्ने आवाज विकसित देशहरुमा उठ्ने गरिरहेको छ ।
रुस, चीन र भारतजस्ता विकसित देशहरु पनि कोइलामै बढी निर्भर छन् । उर्जाका हिसाबले यो बढी अस्वस्थ र वायु प्रदुषणको कारक मानिएको छ । ब्राजिल पनि यी देशहरुको कोटीमा गणना हुने गरेको छ ।
जलवायु परिवर्तनको बहुआयामिक पक्षलाई समेटेर नोभम्बरमा गरिएको विश्व जलवायु सम्मेलन अर्थात् ‘कोप–२६’ मा विश्वभर कोइला प्रयोगमा प्रतिबन्ध लगाउन एजेण्डा तय गरियो । छलफलमा कोइला प्रयोगमा नल्याउने भन्ने विषयमा मत बाझियो ।
अति विकासित देशहरुले कोइला प्रयोग नगर्ने पक्षमा आफ्नो मत दिए भने अन्य देशहरुले कोइला प्रयोगमा प्रतिबन्ध नलगाउन कडा बहसमै उत्रिए । मतसंख्याको हिसाबले कोइला प्रयोग आजकै दिनमा हटाउन नसकिने र त्यसका लागि केही वर्ष सोचिनु पर्ने भएपछि विकसित देशहरु पनि आफ्नो अडानबाट पछि हटेका छन् ।
कोइला प्रयोगमा मत भिन्नता देखिएपछि के गर्ने भनी बहस चलिरहेका बेला ब्राजिलले जंगल फँडानी अवैधानिक घोषणा गर्ने तर कोइला प्रयोगमा प्रतिबन्ध लगाउन नमिल्ने मध्यमार्गी बाटो सुझाएपछि सोही निर्णयलाई नै कोप–२६ को ठूलो उपलब्धीका रुपमा प्रचार गरियो ।
अहिले संसारका धेरै देशहरुले कोइला आयात निर्यातलाई सुचारु गरिरहेका छन् । ब्राजिलले विश्वमा सबैभन्दा बढी जंगल फँडानी भैरहेको अमेजनको जंगल फँडानी रोक्न जंगल फडानीलाई असंवैधानिक बनाउन प्रयास थालेको छ ।
सिंगो दक्षिण अमेरिका महादेश तथा उत्तर अमेरिकाको दक्षिणी भागमा वर्षा गराउने भएकाले यसलाई अमेजन जंगललाई ‘अमेजन रेन फोरेस्ट’ भनेर चिनिन्छ । कूल विश्वको काठ उपयोगमा १० देखि १५ प्रतिशत काठको समस्यालाई धान्ने यो जंगल कृत्रिम कोइला निर्माणका कारण बढी विनास भैरहेको तथ्यांकले देखाएको छ ।
विश्वमा सबैभन्दा बढी कोइला खपत हुने स्थानहरुमा रुसको साइबेरिया, अमेरिका (विशेषतः अलास्का), भारत (रेल तथा उद्योगहरु), ब्राजिल (उद्योग र घरेलु खपत) चीन (केही उद्योग र जनजीवन) आदि रहेका छन् । अफ्रिकाका धेरै देशहरु कोइलामा निर्भर छन् । एशियाका देशहरु पनि काठदाउरा तथा कोइलामा बाँचिरहेका छन् । हालको बूढो युरोप पनि कोइलाकै सहारामा बाँचिरहेको छ ।