• असार २३ २०८१, शनिबार

सिइओलाई ज्यान मार्ने धम्किपछि पनि रोकिएन प्रदेशसभा भवन निर्माणको काम

मंसिर १९ २०७८, आईतवार

दाङ, १९ मंसिर ।
सरकार परिवर्तनसँगै प्रदेश पूर्वाधार कार्यालयमा प्रमुख कार्यकारी अधिकृत फेरिँदा लुम्बिनी प्रदेशको राजधानीमा निर्माणाधीन प्रदेशसभा भवनको ७० प्रतिशत काम सम्पन्न भएको छ । निर्माणधीन दुईतले भवनको पहिलो तला ढलान गर्नेदेखि सभा स्थलमा कुर्सी राख्नका लागि ठाउँ तयार पार्ने लगायतका काम भइरहेका छन् । करिब एक वर्षभित्र निर्माण हुन नसकेको प्रदेशसभा भवन निर्माणको काम नयाँ निर्माण कम्पनी दिएसँगै भवन निर्माणले गति लिएको हो । राती र दिउँसो गरी दुई सिफ्टमा निर्माणको काम हुन थालेपछि करिव १५ दिनमै ५० प्रतिशत भवन निर्माणको काम भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।

मंसिर महिनाभित्र प्रदेशसभा भवन निर्माण गरेर हस्तान्तरण गर्नेगरी निर्माण व्यवसायीले काम गरिरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले बताए । प्रमुख कार्यकारी अधिकृत घिमिरेले लुम्बिनी प्रदेशको पहिचान झल्कनेगरी भवनको डिजाइनमा केही परिवर्तन गरेर प्रदेशसभा भवन निर्माणको काम भइरहेको बताए ।
“प्रदेशसभा भवन पहिलेको डिजाइनमा केही परिवर्तन गरेका छौं, वालमा चाइनिज इट्टा लगाएका छौँ भने छानोमा टिनको सट्टा रोल्पाली ढुङ्गाले छाउने र भवनको अगाडि आँखी झ्याल राख्ने योजना बनेको छ, त्यही योजना अनुसार प्रदेशसभा भवन स्थानीय अनुकूलता र पहिचानलाई ध्यानमा राखेर बनाउने काम भइरहेको छ” अधिकृत घिमिरेले भने ।

उनका अनुसार पहिले गाह्रोमा चाइनिज इट्टाको सट्टा प्रिफेप पाता प्रयोग गरेर बनाउने भनिएको थियो । यसले गर्दा भवन निर्माणको लागत बढ्ने भएपछि बजेट रोक्ने काम हुन थालेको छ । महिनाभित्रै भवन निर्माणको काम सक्नेगरी काम अघि बढे पनि पछिल्लो चरणमा भवन निर्माणका लागि समस्या सिर्जना गर्ने खेल भइरहेको उनले बताए । प्रदेश राजधानी कार्यान्वयनकालागि राप्ती उपत्यकाका प्रदेशसभा भवन निर्माणले गति लिएसँगै केही मन्त्रालयहरू आउने तयारीमा गरिरहेका बेला प्रदेशसभा भवन निर्माणलाई ढिला गर्ने काम हुन खोजेको प्राधिकारण कार्यालयले जनाएको छ ।

५ करोड २१ लाखको लागतमा लुम्बिनी प्रदेशको प्रदेशसभा भवन वाइवी स्टोन बिल्डर्स प्रालिले गरिरहेको छ । एमएस ड्राइगन बस्नेत जेभीले काम गर्न नसकेपछि प्राधिकरणले प्रदेशसभा भवनको काम वाइवी स्टोन बिल्ड्रर्सलाई दिएको थियो । सम्झौता अनुसार प्रदेशसभा भवन निर्माणको काम ४५ दिनमा सक्नेगरी भवन निर्माणको काम गरिरहेको निर्माण व्यवसायी सिभिल इन्जिनियर यज्ञ केसीले बताए तर, कामको सुनिश्चिता नहुँदा केही समस्या भएको केसीले बताए ।

“निर्धारित समयमै काम सकेर भवन हस्तान्तरण गर्ने गरी काम भइरहेको छ, प्रदेश सरकारले बजेटको सुनिश्चिता गरे काममा कत्ति पनि ढिलाइ गर्दैनौं” केसीले भने । प्रदेशसभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठाहरू बन्ने भएका छन् । राप्ती गाउँपालिकाको सबै वडाहरू, गढवा गाउँपालिका वडा नं। १, २ र ३ नम्बर र अर्घाखाँची जिल्लाको शितगंगा गाउँपालिकाका वडा नं। ८ र ९ को भूभागलाई समेटेर प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती उपत्यकालाई घोषणा गरेको थियो । यसैबिच अस्थायी मुकाम बुटवलबाट लुम्बिनी प्रदेशको राजधानी सार्न थालेको भन्दै प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेलाई ज्यान मार्ने धम्की दिइएको छ । स्थायी राजधानीमा भौतिक पूर्वाधारको कामलाई निरन्तर जारी राखेर राजधानी सार्न थालेको भन्दै सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत् घिमिरेलाई ज्यान मार्ने धम्की दिइएको हो ।

सुबोध बेलबासे नामको फेसबुक म्यासेन्जरमार्फत् पठाइएको म्यासेजमा राजधानीको काम तुरुन्त रोक्न धम्की दिइएको छ । ‘राजधानी सार्ने नै हो त रु काम छैन पागल जस्तै गरेको छ’, घिमिरेलाई पठाइएको म्यासेजमा भनिएको छ, ‘अर्थले बजेट रोकिसक्यो, ठेकेदार काम रोक्न तयार छ, सिइओलाई मर्न मन छ के हो रु’ उक्त म्यासेजमा अख्तियार लगाएर या ज्यान मारेर सिध्याउने धम्की दिइएको छ । राजधानीमा भौतिक पूर्वाधार निर्माणको काम तत्काल रोक्न पनि धम्की दिइएको छ । म्यासेजमा लेखिएको छ, ‘नत्र बुटवल आएपछि दाङ फर्कन पाउँदैनस् ।’ आफ्नो ४ सय करोड रूपैयाँ लगानी सिध्याउन खोजेको भन्दै म्यासेजमा सम्झाउँदा पनि नमानेको उल्लेख गरिएको छ ।

राधजानीको काम सुस्त गर्न सम्झाएको विषयमा घिमिरेले आफूलाई अप्रत्यक्ष रूपमा त्यस्ता खालका सुझावहरू आए पनि आफूले जिम्मेवारी अनुसार काम गरिरहेको बताए । घिमिरेका अनुसार दाङमा राजधानी ल्याउन वा आउन नदिने नियत बोकेकाहरूबाटै आफूलाई धम्की आएको बताए । आफूमाथि असुरक्षा भएको भन्दै प्राधिकरणका सिइओ घिमिरेले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको बताए । “मलाई राम्रोसँग चिनेको र राजधानीको विषयमा चासो र सरोकार राख्ने मान्छेबाट नै यो खालको धम्की आएको हो, मैले धम्की दिने व्यक्ति पत्ता लगाउनका लागि सिडिओ र एसपी सापसँग जानकारी गराएको छु” घिमिरेले भने ।

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत घिमिरेमाथि आएको धम्कीबारे अनुसन्धन सुरु भएको भन्दै छिट्टै दोषीलाई पक्राउ गर्ने बताए । “प्रहरीले जानकारी पाउनासाथ अनुसन्धान गर्न थालिसकेको छ, छिट्टै दोषीलाई पक्राउ गर्ने छौं” रेग्मीले भने ।