• चैत्र २७ २०८१, बिहीबार

आगो कान्छा

मंसिर १९ २०७८, आईतवार

चैतमासको धुप पनि
मसाल बोकी उभिन्छ आगो कान्छा
दुखी भरिया ज्यामीहरुको
निम्ति आगो कान्छा
भर्भराउँदो क्रान्तिकारी युवक हो
लुटेरा राज्य र बदलिँदो बजारका लागि
आगो कान्छा थान्ने हो
आगो कान्छा आतंककारी हो
आगो कान्छा बन्दुके हो
आगो कान्छा राँके हो
०४६ मा देशमा आगो बल्दा
एक मण्डलेको महल जलाएर
बलप्रसाद तिमल्सिना भएका थियो आगो कान्छा
एउटा वर्गको निम्ति आगो कान्छा
अतिप्रिय मान्छे भयो
अर्को वर्गको निम्ति आगो कान्छा
आँखाको तारो भयो
आगो कान्छा आफ्नु वर्गको निम्ति

सधैं इमानदार भयो
लाखौं श्रमिकको मित्र भयो
जनयुद्धको एक रापिलो याम
आगो कान्छा
मसाल बोकेर जलाउन अभिसप्त भयो गाविस भवन
त्यहि बेला जल्यो उसको दाइने हात
त्यही बेला भयो अझै आगो झैँ
आजकाल जुलुसहरुमा
उ देब्रे हातमा मसाल बोक्छ
देब्रे हातमै बोक्छ रातो झण्डा
र सत्ताप्रति आक्रोशित भएर
नाराहरु भटभट्याउँछ
पुलिसहरु भन्छन्
आगोसँग नखेल आगो कान्छा
आगोहरु डर लाग्दा हुन्छन्
आगो बोकेर हिंडेकाहरु पानी झैं

सेलाएका छन् ।
अदालत भन्छ
आगो बोक्न छोड कान्छा
तर कसैलाई थाहा छैन
आगो बनिसकेको मान्छेलाई
दन्कनबाट रोक्न सकिंदैन ।