• चैत्र २६ २०८१, बुधबार

इच्छा

मंसिर १८ २०७८, शनिबार

एउटी सानी केटी थिइन् । उनका बुबाआमाको कुनै दुर्घटनामा मृत्यु भइसकेको थियो । उनी आफ्नी हजुरआमासँग बस्थिन् । हजुरआमाको दुईतले घरमध्ये माथिल्लो तलामा उनैका लागि बनाइएको बेड रूममा उनी सुत्ने गर्थिन् ।

एक दिन त्यो घरमा आगो लाग्यो । हजुरआमा नातिनीलाई बचाउने हुँदा आगोमा परिन् र उनको तत्काल मृत्यु भयो । आगो फैलियो र पहिलो तलामा निकै छिटो ह्वार्रह्वारी बल्न थाल्यो ।

छिमेकीले तत्काल फायर ब्रिगेडलाई फोन गरे । उनीहरुले बच्चीलाई बचाउन कुनै पहल भने गरेनन् । उनीहरु बच्ची भएको घरभित्र छिर्न गाह्रो थियो । सबै ढोकामा आगो ह्वार्रह्वार्री बल्न थालिसकेको थियो ।
सानी केटी माथिको कोठाबाट चिच्याउँदै ‘आगो, आगो’ भनिरहेकी थिइन् । ‘कृपया, मलाई बचाउनुहोस्’ भन्दै रोइकराइ गर्दा पनि कसैको हिम्मत जुटेन उनलाई बचाउन ।

त्यतिबेलै भिडमा एउटा खबर फैलियो–फायर ब्रिगेड यहाँ आइपुग्न समय लाग्छ किनभने अरू कहीं आगो निभाउन गइरहेको छ । अचानक एउटा मान्छे सिंढी लिएर आयो र घरमा सिंढी लगाएर भित्र पस्यो ।
जब मान्छे त्यही सिंढीबाट ओर्लिदै थियो–उसको अंगालोमा ती सानी केटी थिइन्, जो केही समय अघि रूँदै बचाउन अनुरोध गरिरहेकी थिइन् । बच्चीलाई सकुशल बचाएर त्यो मान्छे अँध्यारोमा कहीं बिलायो ।
भोलिपल्ट बच्चीका बारेमा सोधखोज सुरू भयो । के थाह भयो भने उसका नजिकका कुनै पनि नातेदार छैनन् । अब यो सानी नानीलाई कसले पाल्ने भन्ने छलफल भयो । यसका लागि टाउन हलमा एउटा बैठक पनि डाकियो ।

हेर्दै प्यारी यो बच्चीलाई पाल्न को नचाहँदो हो । छलफलको क्रममा एकजना शिक्षिकाले तर्क गर्दै भनिन्–‘म यो बालिकालाई पाल्न चाहन्छु । मसँग बसिन् भने उनको शिक्षादीक्षामा ठुलो सहयोग पुग्छ ।’
अर्कोतिर एउटा किसानले जिरीह गरायो कि यो बच्ची उसले पाउनु पर्छ । उसले भन्यो–‘गाउँको वातावरण, वरिपरि खेत भएको हरियोपरियो, गाईवस्तुको ताजा दुध खान पाएर यी बच्ची राम्रोसँग हुर्किने छिन् ।’

यसमध्ये सहरकै सबैभन्दा धनी व्यक्तिले पनि बच्चीलाई आफुले पाल्ने प्रस्ताव राखे । उनले भने– ‘अहिलेसम्म जसले जे जति भेला भएका व्यक्तिहरुमध्ये अरुले आआफ्नो तरिकाले बच्ची पाल्दाका फाइदा देखाए, ती सबैभन्दा बढी सेवा र सुविधा दिएर म पाल्न सक्छु, म सबैभन्दा राम्रो स्कुलमा पढाउन सक्छु, उनले चाहेजस्ता महंगा खेलौना किनिदिन सक्छु । उनले चाहेजस्तो बातावरण हुर्काउन सक्छु । त्यसैले यो बालिकालाई मैले पाल्न पाउनु पर्छ ।’

यी सबै प्रस्ताव चलिरहँदा ती बालिका चाहिँ भुइँतिर हेरिरहिन् एकटकले । कसैले पनि सोधेन, उनी कोसित बस्न चाहन्छिन् रु यसैबीच बैठकको अध्यक्षता गरिरहेका सज्जन उठेर भने– ‘बोल्न बाँकी रहेको कोही छ ? कसैलाई केही भन्नुछ भने भनिहाल्नोस् । यो अन्तिम मौका हो ।’

हलको पछाडिबाट एउटा व्यक्ति बिस्तारै आइरहेको देखियो । उसको गति निकै कम थियो । हिंडदा उसलाई पीडा भइरहेको उसको भावभङ्गिमाबाट स्पष्ट थाह हुन्थ्यो ।

जब बैठक भइरहेको सभाहलको सबैभन्दा अगाडि आइपुग्यो, ऊ त्यही बालिकाको अगाडि उभियो । उसले बालिकालाई हात दियो । उसको हात आगोका कारण पूरै जलेको थियो, घाउ निको नभएको स्पष्ट नै देखिइरहेको थियो । भीडले घाउ देखेर उफ् भन्ने आवाज निकाल्यो ।

बालिका भूइँबाट मुन्टो उठाएर हात दिने व्यक्तितिर हेर्न थालिन् । केटी चिच्याउन थालिन्– ‘उहाँ नै हो, मलाई बचाउने, उहाँले नै हो मलाई बचाएको १’ उसको चिच्याहट खुशीको थियो । बालिका बसेको ठाउँबाट जुरुक्क उठेर उसलाई अँगालो हालिन् । आगोबाट बचाउँदा पनि उनी यसरी नै अँगालोमा बेरिएकी थिइन् ।

बालिकालाई लिएर बैठक कोठाबाट ती व्यक्ति निस्किए । बैठकको अध्यक्षता गरिरहेका व्यक्तिले भने– ‘बैठक समाप्त भयो किनभने बच्चीले निर्णय दिइसकिन् कि उनी कोसित बस्न चाहन्छिन्’ । भेला भएका सबै व्यक्तिहरु लाखापाखा लागे ।