• चैत्र २६ २०८१, बुधबार

विवेकशील साझा, फोरम र दरबार पार्टीबीच एकता हुँदै

मंसिर १८ २०७८, शनिबार

काठमाडौं । विभाजनको चक्रव्यूहमा फसेको विवेकशील साझा पार्टीले सिटिजन्स डिस्कशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग एकीकरण घोषणा गर्दैछ । शनिबार एकता घोषणा हुँदैछ । एकीकरण गर्ने निर्णय गत कात्तिक २८ गते नै भएको थियो । उक्त एकीकरणलाई शनिबार सभा मार्फत् घोषणा गर्ने पार्र्टी प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

कल्याणकारी लोकतन्त्रलाई मुख्य राजनीतिक दर्शन बनाएको पार्टीले हालै मात्र अध्यक्ष रवीन्द्र मिश्रले अघि सारेको ‘विचार भन्दा माथि देश’ नामक राजनीतिक दस्तावेजलाई पारित गरेको छ । विचार भन्दा माथि देश दस्तावेज सार्वजनिक भएसँगै सो पार्टीले विचार मिल्ने विभिन्न राजनीतिक दल तथा समूहसँग एकीकरण र ध्रुवीकरण सुरु गरेको हो ।

शनिबार आयोजना गर्न लागिएको एकता सभामा पार्टीका अध्यक्ष मिश्रका साथै नेता किशोर थापा, तत्कालीन सिटिजन्स डिस्कशन फोरमका संयोजक कर्णबहादुर शाही, राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ । एकीकृत पार्टीको नाम विवेकशील साझा नै रहेको छ ।