काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
बंगालको खाडीमा बनेको जवाद नामको सामुन्द्रिक चक्रवातको प्रभाव आजबाट हटेर जाने भएको छ ।
बंगालको खाडीको मध्य पश्चिम भुभागमा हिजो शुक्रबार बनेको चक्रवात आज बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर पूर्वतर्फ सर्ने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त चक्रवातका कारण नेपालमा खासै ठूलो प्रभाव पर्ने सम्भावना नरहे पनि यसको अप्रत्यक्ष प्रभावले प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ ।
यस्तै प्रदेशका उच्च पहाडी तथा हिमाली भु(भागहरुका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने सो प्रदेशका एक(दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । आउँदो सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने विभागले जनाएको छ ।
भोलि आइतबारबाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्नसक्ने सम्भावना रहेको विभागले जनाएको छ ।
सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आईतबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । यी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
आईतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागहरुका एक(दुई स्थानहरूमा भारी हिमपातको समेत संभावना रहेको छ । सो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जानेछ ।
यी मौसमी प्रणालीहरुका कारण पर्वतारोहण, हवाईरयातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।