काठमाडौं । विवेकशील साझा पार्टीले आज दुईवटा समूहसँग एकता गर्दै छ । सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग आज एकीकरण गरिने विवेकशील साझाले जनाएको छ ।
ललितपुरको जावलाखेलमा आमसभा गरेर दुई समूहसँग विवेकशीलले एकता घोषणा गर्न लागेको हो । यसअघि कोणसभा र बन्द हलभित्रका अन्तक्र्रिया जस्ता कार्यक्रम मात्रै गर्दै आएकोल विवेकशीलले आज पहिलोपटक उपत्यकामा आमसभा गर्न लागेको हो ।
त्यसका लागि पार्टीले देशभरिबाट प्रतिनिधि बोलाइएको छ । उपत्यकाका ३ ठाउँबाट झाँकीसहितको जुलुस निकालिने पार्टीका प्रवक्ता शरद पाठकले जानकारी दिए ।
‘आमसभा गरेर हामी ठूलो स्केलमा जान थाल्यौं भन्ने सन्देश दिन खोजेका हौं,’ पाठकले भने, ‘देशभरबाट ४ हजारबढी प्रतिनिधिको उपस्थिति रहने छ । एक हिसाबले यो चुनावी तयारी पनि हो ।’
आमसभामा साझापार्टीका अध्यक्ष रवीन्द्र मिश्र, नेता किशोर थापा सिटिजन्स डिसकसन फोमका संयोजक कर्णबहादुर शाही, राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह लगायतले सम्बोधन गर्नेछन् ।
सिटिजन्स डिसकशन फोरम तथा राष्ट्रिय जनता दरबार पार्टीबिच एकीकरण गएपनि रवीन्द्र मिश्र पार्टीको एकल कार्यकारी अध्यक्ष रहने र पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने समझदारी तीन समूहबीच भएको छ ।