संवैधानिक जिम्मेवारीका हिसाबले राष्ट्रपतिको पद सबैभन्दा उच्च, गरिमामय र पुज्य पनि हो । यो संवैधानिक भएकाले सर्वस्वीकार्य पनि हो । साथै, यो राष्ट्रिय एकताको प्रतिक पनि हो ।
तर पछिल्लो समयमा राजनीतिक दलहरुले यसको विशिष्ट गरिमा र गौरवलाई ओझेलमा पार्ने प्रयास गरिरहेका छन् । यो प्रयास भूलबस नभई जानाजान गरिन थालिएको छ । किनकि राजनीतिक दलहरु राष्ट्रपतिको पद र जिम्मेवारीका बारेमा अनभिज्ञ छैनन् ।
तर पनि आश्चर्यको कुरा के भइरहेको छ भने वर्तमान सत्ताधारी गठबन्धन र त्यो गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले अहिले हुँदै गरेको उक्त पार्टीको १४ औं महाधिवेशनमा राष्ट्रपति पदलाई ‘बार्गेनिङ चिप्स’ का रुपमा प्रयोग गर्न थालिसकेको छ ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले हुन गैरहेको १४ औं महाधिवेशनमा आफू अप्ठेरोमा परिने हो कि भन्ने अनुभव हुन थालिसकेपछि आफ्ना निकटतम प्रतिस्पर्धी रामचन्द्र पौडेललाई राष्ट्रपति दिने आश्वासन दिन थालेका छन् ।
देउवा इतर गुट तथा शक्तिहरु एक ठाउँमा आएर साझा उम्मेदवार उठाउनेतिर गृहकार्यमा जुट्न थालेपछि अब हुने राष्ट्रपतीय निर्वाचनमा ‘संभावित’ राष्ट्रपति बनाउने भनी पौडेललाई फकाउन थालेको कुरा बाहिर आइसकेको छ । प्रजातन्त्र र प्रजातान्त्रिक प्रक्रियामा एकै ओहदामा एउटा पार्टीभित्र प्रतिस्पर्धा हुनु स्वभाविक कुरा हो ।
यसलाई मैत्रीपूर्ण प्रतिस्पर्धाका रुपमा लिन सकिन्छ । तर देउवाले आफ्ना प्रतिस्पर्धी पौडेललाई राष्ट्रपति बनाउने जिम्मा लिएर आफू पार्टीमा ढुक्कताका साथ निर्वाचित हुने र आगामी प्रधानमन्त्रीको पद सुरक्षित गर्ने रणनीतिमा लागेका छन् ।
त्यसै गरी एमालेका १० औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टी महाधिवेशनबाट नेतृत्व चयनमा सर्वसम्मत बनाउन नसके पनि आफ्नै गुटभित्र सिर्जित समस्यालाई भने राष्ट्रपति पदको ‘च्याँखे थापेर’ समाधान गर्न सफल भएका छन् ।
पार्टीको वरिष्ठ उपाध्यक्ष पदमा ‘ज्यान गए पनि नछाड्ने’ अड्डी लिएर बसेका सुवासचन्द्र नेम्बाङलाई आगामी निर्वाचनमा राष्ट्रपति बनाइदिने भनेर उपाध्यक्ष पदमा थान्कोमान्को लगाएका छन् । एमाले वृत्तमा नेम्बाङलाई ओलीको ‘राती गेडी’ भनेर चिनिन्छ ।
यसरी हेर्दा राजनीतिक पार्टीहरुका लागि सम्मानित राष्ट्रपतिको पद आफ्ना प्रतिस्पर्धी वा असन्तुष्टहरुलाई ‘थान्को लगाउने’ स्थान बन्न पुगेको देखिन्छ । सार्वजनिक वृत्तमा अहिले देखि नै चर्चा चल्न थालिसकेको छ– ‘त्यसो भए आगामी राष्ट्रपति को होला, पौडेल कि नेम्बाङ ?’