काठमाडौं । काठमाडौंको सोह्रखुट्टेस्थित एक गार्मेन्टमा भीषण आगलागी भएको छ ।
आज शुक्रबार दिउँसो २ बजेपछि नयाँबजारस्थित प्राइम कलेज नजिकै सो गार्मेन्टमा आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि अहिले घटनास्थलमा काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् ।
प्रहरी वृत्त सोह्रखुट्टे स्रोतका अनुसार घटनास्थलमा अहिले आगो निभाउने काम जारी रहेको छ । प्रहरीका अनुसार वस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको हो ।
आगलागीको कारण अहिलेसम्म थाहा हुनसकेको छैन ।