• मंसिर ११ २०८१, मंगलवार

बालाचतुर्दशी र यसको सांस्कृतिक पक्ष

मंसिर १७ २०७८, शुक्रबार

प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीमा पर्ने यो पर्व पनि नेपाली जनजीवनमा एउटा महत्वपूर्ण र आफ्नै मौलिकता बोकेको पर्व हो । यो बालाचतृर्दशीको पशुपतिनाथसँग रहेको कुरालाई हिमवतखण्ड, नेपाल माहात्म्य तथा शिवपुराणहरुले वर्णन गरेका छन् ।
हिमवत्खण्डको बयालीस अध्यायमा यस पर्वको उत्पत्ति परम्पराको बारेमा के बताइएको छ भने मृगरुप लिएर भगवान् शिवले जहाँजहाँ घुम्नुभयो, खानुभयो, सुत्नुभयो, हिंड्नुभयो, बिहार गर्नुभयो त्यो पुण्यक्षेत्र भएकाले त्यहाँ सप्तधान्य (शतबीज) छर्दा एउटा धानको गेडा छरेको पनि एकरत्ति सुवर्ण छरेको बराबर हुन्छ भनी हरिणेश्वर शिवजीले आकाशमार्गबाट बताएको भनि हाम्रो शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।

बालाचतृर्दशीको पशुपतिनाथसँग रहेको कुरालाई हिमवतखण्ड, नेपाल माहात्म्य तथा शिवपुराणहरुले वर्णन गरेका छन् । हिमवतखण्डको बयालीस अध्यायमा यस पर्वको उत्पत्ति परम्पराको बारेमा के बताइएको छ भने मृगरुप लिएर भगवान् शिवले जहाँजहाँ घुम्नुभयो, खानुभयो, सुत्नुभयो, हिंड्नुभयो, बिहार गर्नुभयो त्यो पुण्यक्षेत्र भएकाले त्यहाँ सप्तधान्य (शतबिज) छर्दा प्राणी मात्रको जीवन यापनको लागि चाहिने अन्य दान गर्ने मानव जातिले छरेको एक गेडा अन्न बराबर एक तोला सुनदान गरेको पुण्य मिल्ने धार्मिक विश्वास रहँदै आएको छ ।

शतबिज त्यस वर्ष दिवंगत भएका आफन्तको चीर शान्ति, मंगल र पुण्यको कामना गरी वनक्षेत्रमा छर्ने चलन छ । यो लगातार तीन वर्षसम्म छर्ने र तीन वर्षमा चर्तुष्ठी गरी होम गर्ने चलन नेपाली समाजमा अद्यावधिक रहँदै आएको छ । शतबिज छर्ने पर्वको परम्परा कहिलेबाट बस्यो भन्ने जनश्रुतिअनुसार कैलाशबाट भगवान् शिव श्लेष्मान्तक वनमा आई अत्यन्त आकर्षक मृगरुप धारण गरी वर्षौं वर्ष बितेको पत्तै भएन ।

यस कुराले माता पार्वतीलगायत समस्त देवीदेवताहरुलाई ज्यादै पिर पार्यो । भोलेबाबा कहाँ हुनुहुन्छ भनी दिव्य दृष्टिले हेर्दा त भगवान् मृगरुप धारण गरी पशुपति क्षेत्रमा वन विहार गरी रहनुभएको देवी पार्वतीले थाहा पाउनुभयो । शिवरुपी मृगलाई चिन्न र आकर्षण गर्न माता पार्वतीले थाहा पाउनुभयो, शिवरुपी मृगलाई चिन्न र आकर्षण गर्न माता पार्वतीले विभिन्न किसिमको बिज छर्नुभयो ।

केही हप्तापछि छरिएका बीउहरु उम्रिएर हरियो घाँस भए पछि घाँस देखेर मृगहरु लोभिएर आउन थाले । आएका मृगमध्ये मृगरुपी भोलेबाबालाई चिन्न माता पार्वतीलाई सजिलो भयो । यसरी देवी पार्वतीद्वारा सुरुवात भएको शतबिज छर्ने प्रथा कालान्तरमा जीवन संस्कृति बन्यो र युग युगसम्म कायम भइराखेको छ, रहिरहने छ ।

शतबिज भन्नाले खास गरी सात चिजका गेडागुडीहरु भन्ने बुझिन्छ । यी शतबिजमा प्रयोग गरिने अन्नहरुमा गहुँ, सरस्र्यू, मकै, जौ, धान, बयर, अमला र अन्य फलफूल तथा कन्दमूलका टुक्राहरु पर्दछन् ।

शतबिज छर्न नेपाल अधिराज्यका विभिन्न भागहरु लगायत मित्रराष्ट्र भारतबाट समेत पशुपतिनाथको मन्दिरमा घुइँचो लाग्ने गर्दछ । मानिसहरु आउँछन् त्रयोदशीका दिन महाद्विप बाली पशुपति वरपर बस्छन् र भोलिपल्ट बिहान सप्तधान्य छर्दै हिंड्छन् ।

यस दिन टाडा जान असमर्थ कतिपयले नजिकको तीर्थ स्थल मन्दिर, देवालयमा गई शिव प्रार्थना गरी रातभर जाग्रांम बस्ने प्रचलन पनि जनसमुदायमा विद्यमान छ । शतबिज छरिसकेपछि खीर, फलाहार, दही, च्यूरा, पुलाउ इत्यादि मिष्ठान्न पदार्थ भोजन गरी खैजडी, मुजुरा, मादलका साथै शिवलीला, कृष्ण चरित्रसम्बन्धी भजन–कीर्तन गाइने परम्परा नेपाली समाजमा विद्यमान छ ।

हाम्रो समाजमा दुईथरी विश्वास बोकेका मानिसहरुको शतबिज छर्ने प्रचलन छ । एकथरी अधिल्ला वर्षहरुमा आफ्नो परिवारजनको स्वर्गरोहण हुनेले मात्र मृतात्माको स्मृतिमा शतबिज छर्दै चीरशान्तिको कामना गर्ने र अर्काथरी पुण्य कमाउने आशा गर्दछन् ।

सार्वजनिकरुपले शतबिज छर्ने अधिल्लो दिन अर्थात् मार्ग कृष्ण त्रयोदशीको दिन भगवान् पशुपतिनाथलाई किमति गरगहना पहिराइन्छ । सक्कली एकमुखे रुद्राक्ष, नागमणिजस्ता बस्तुहरु ढुकुटीबाट झिकिन्छन् ।

त्यसरी झिकिएका वस्तुहरु मार्ग कृष्ण औंसीको दिन भण्डारमा पुनः राखिन्छन् । बालाचर्तुदशीको दिन मध्यरातमा अन्तिम शतबिज छरिन्छ । जसलाई “कयन्या” भनिन्छ । यो कार्य सम्पन्न भएपछि त्यस वर्षको शतबिज छर्ने कार्य समाप्त हुन्छ ।
बालाचर्तुदशीको दिनदेखि पशुपतिनाथलाई तचातो स्नान गराउँछ । तातो पानीले गराइन्छ । चैत्र कृष्ण चतुर्दशीसम्म प्रतिदिन त्यसरी नै स्नान गराइन्छ । शतबिज छर्दा महत्व बुझनेहरु सवेरै बाग्मतीमा नुहाएर “सुवर्णरत्तिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् मृगस्थली परिभ्रम्य पुनर्जन्म न विधते” भनी मन्त्र पढ्दै शतबिज छर्दछन् ।

शतबिज छर्नेहरुको घुइँचोसँगै काठमाडौं उपत्यकामा जाडो भित्रिन्छ भन्ने पुरानै उखान हो । यस दिन बौद्धवलम्वीहरु स्वयम्भूमा शतबिज छर्न धाउने गर्छन् । पितृहरुको नाममा लामा, शेर्पा, तामाङ्ग, गुरुङ्ग आदि जनजातिहरुले अन्न, फलफूल छर्ने गरको पाइन्छ । सो दिनमा देवताहरुको पनि जात्रा हुने भन्ने धार्मिक विश्वास उनिहरुको छ ।

देवताहरुको पनि देवता पशुपतिनाथको दर्शन गरिसकेपछि उपत्यकाभित्र रहेका महत्वपूर्ण मन्दिरहरुमा पनि दर्शनार्थीको भीड लाग्ने गर्दछ । मार्ग कृष्ण त्रयोदशीको साँझदेखि पशुपतिनाथको सेरोफेरो र कैलाशडाँडाको मृगस्थलीमा मानिसको रेलो लाग्न थाल्छ ।

पसलेहरु सकेसम्म राम्रो ठाउँ ओगटे र पाल हाली बजार बसाल्न थाल्छन् । अनि अरु यात्रुहरु जहाँ जहाँ मिल्छ त्यही त्यही आफ्ना डफ्फाका साथ आसन बसाउछन् साँझ पर्दा सम्ममा कैलाशको चौरमा खुट्टो राख्न पनि मुश्किलले पाइने स्थिति हुन्छ ।
साँझ परेपछि धार्मिक अनुष्ठान सुरु हुन्छ । एकातिर परिवारका मूली वा जिम्मेवार व्यक्तिहरु पशुपतिको मूल बत्तिबाट पितृका नाउँको दियो वा महाद्विप, जीवनदीप आदि जगाएर रातभर त्यसको संरक्षण गरेर बस्छन् भर्ने अर्कातिर मादल र बाँसुरीको तालमा नाँच्ने पनि हुन्छन् ।

अनि केही धार्मिक प्रवृत्तिका रसिक पाकाहरु पनि बैंसको स्मृतिमा भजन, चुड्का, कीर्तन आदि गरेर कठोर रातको पीडालाई केही मत्थर बनाउने प्रयत्न गर्छन् । त्रयोदशीको त्यो रात टाढाबाट असंख्य मौरीको भुनभुनले भरिएको रात झैं सुनिन्छ ।

कैलाशतिर हेर्दा त्यसको थाप्लो धपक्क बलेर त्यसको प्रकाशले चुक जस्तो गाढा अंधकार आकाशलाई छेड्ने ठूलो प्रयत्न गरिरहे झैं देखिन्छ । अनि चतुर्दशीको दिन चाहिँ बिहान सबेरै महादीप वा दीप लगेर बागमतीमा सेलाइन्छ र मानिसहरु नुवाई धुवाई पशुपतिनाथको पूजा गरी शतबिज छर्ने कार्य गर्दछन् ।

अन्त्यमा भन्नुपर्दा हाम्रो समाजमा विभिन्न आआफ्नै संस्कृति हुन्छ । त्यस्तै गरी हाम्रो समाजमा भने प्राचिन कालदेखि नै मानि आएको धर्म संस्कृतिलाई नै महत्व दिइएको पाइन्छ । यी विभिन्न धार्मिक कार्य मध्य शतबीज छर्ने पनि एक महत्वपूर्णको कार्य हो ।

त्यसैले गर्दा हिन्दुधर्मालम्बीहरु शतबिज छर्ने कार्यमा सधै लालयित रहेको पाइन्छ । यस कार्यको लागि त्रयोदशीका दिन राती पशुपतिक्षेत्र खास गरी कैलाशको थाप्लामा दीप महादीप बालिदिएमा जीवात्मा कुनै कारणवश शून्यमा मार्ग नपाई अन्धकारमा भट्किरहेका भए पनि त्यस दीपका प्रकाशले मार्ग पाई पितृलोकमा जान सक्छ र श्लेषमान्तक क्षेत्रमा छिर्दा  एक गेडा अन्न बराबर एक तोला सुन दानको पुण्य मृतकलाई मिल्छ भन्ने गहिरो जनविश्वास छ ।

यो पर्व नेपाली संस्कृतिको एक महत्वपूर्ण अंग हो र हिन्दू धर्मावलम्बीहरुले यसलाई बडो हर्षोल्लासका साथ मनाइने गरेको पाइन्छ । यस पर्वले धार्मिक आस्था तथा परम्पराको विश्वासको आधारमा नै शतबीज छर्ने कार्य गर्ने गरिन्छ ।