• मंसिर ७ २०८१, शुक्रबार

हेलिकोप्टर चार्टर गरी छोराको विवाह

मंसिर १७ २०७८, शुक्रबार

काठमाडौं । बारा सिम्रौनगढ नगरपालिकाका जोगी साहले हेलिकप्टर चार्टर गरेर छोराको बिबाह गरिदिएका छन् । छोराको इच्छाअनुसार बिबाहमा हेलिकोप्टर चार्टर गरी दुलही घरमा लिएर भित्र्याएपछि साह दङ्ग छन् । उनका छोरा बुहारी त झनै फरुङ्ग छन् ।

दुलाहाका बुवा साह बारा जिल्लास्थित सिम्रौनगढ नगरपालिका आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न व्यापारी हुन् । उनलाई स्थानीय समाजमा साहुजी, महाजन आदि भनेर सम्मान गरिन्छ । छोरोको बिबाहमा मनग्यै खर्च गरेका उनी ‘परिआएमा खर्च गर्न नडराउने’ मानिसमा गनिएका छन् ।

उनले आफ्नो २१ वर्षिय छोरा बिर्जु साहको बिबाहका लागि एउटा हेलिकोप्टर चार्टर गरी दुलाहा छोरा लिएर ससुराली रौतहटको गरुडास्थित जोगिन्द्र साहकी छोरी दुलही सङ्गीता साहलाई लिन पुगेका थिए ।बिर्जु साहले एउटा भारतीय फिल्ममा दुलाहा हिरो हेलिकप्टरमा चढी दुलही लिन गएको देखेपछि उनको मनमा पनि आफूले त्यसै गरी बिहे गर्ने मनसुवा पलाएको कुरा बुवा जोगी साहलाई बारम्बार बताउने गरेका थिए ।

छोराको इच्छाबमोजिम आफूले पनि उक्त काम गर्न पाउँदा उनी खुशी छन् । समाजमा अहिलेसम्म भएको बिबाहभन्दा आफूले गरेको काम फरक भएकाले उनलाई गर्वानुभूति भएको सुनाउँछन् । उनी भन्छन्– ‘बिबाह जीवनमा एकपटक मात्र हुने हो, दुलाहाले नै त्यो इच्छा जाहेर गरेपछि मैले पूरा गरिदिए ।’

बिबाहका लागि चार्टर गरिएको उक्त हेलिकोप्टरको चार्जस्वरुप जोगीले रु. तीन लाख ८० हजार तिरेका थिए । छोराको बिबाहमा हेलिकोप्टर भाडामा ल्याउन पाएकोमा आफूलाई खुशी लागेको उनले बारम्बार सुनाएका थिए । हेलिकप्टरमा बसेर पहिलो पटक आफ्नो घरमा आउन पाउँदा दुलही सङ्गीताको पनि खुशीको सीमा नै छैन ।