• चैत्र २६ २०८१, बुधबार

माओवादीको बठ्याइँ : राष्ट्रिय सम्मेलनको मुखैमा केन्द्रीय प्रतिनिधिको व्यवस्था

मंसिर १७ २०७८, शुक्रबार

काठमाडौं । पौष ११–१३ गते काठमाडौंमा सम्पन्न हुनगैरहेको नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशनको मुखैमा आएर केही युवा नेताहरुलाई केन्द्रीय प्रतिनिधिका रुपमा चयन गरिएको छ । पार्टीभित्र केन्द्रीय प्रतिनिधिको व्यवस्था गरिएको यो पहिलो पटक हो । यो निर्णय पार्टी स्थायी समितिको बैठकबाट लिइएको हो ।

प्रतिनिधि बनाइएका मध्ये ९ जना पूर्वविद्यार्थी नेता रहेका छन् । अहिले ९ जना पूर्वविद्यार्थी नेतासहित १२ जनाले केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाएपछि उनीहरुले पार्टी केन्द्रीय समिति वैठकमा भाग लिन पाउने छन् । उनीहरुको भूमिका केन्द्रीय सदस्यसरह हुने छ ।

माओवादी केन्द्रका प्रवक्ता कष्णबहादुर महराका अनुसार केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाउने युवा नेताहरुमा अखिल क्रान्तिकारीका पूर्वनेताहरू रत्न ढकाल, नरेन्द्र न्यौपाने, सन्तोष बिष्ट, रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दीपक देवकोटा, विजय गौतम र उत्तम अधिकारी छन् । अन्य तीन जना युवा नेतामा नुवाकोटका श्रीकृष्ण अधिकारी, जाजरकोटका गगन खड्का र रुकुम पश्चिमका पारसमणि रहेका छन् ।

पार्टीमा युवाहरुलाई स्थान दिन भनी जोडदार आवाज उठेपछि गत असोज महिनामै युवाहरुलाई स्थान दिइने निर्णय गरिए पनि त्यसको कार्यान्वयन हुन सकिरहेको थिएन । ककसलाई ल्याउने भन्नेमा धेरै युवाहरुको नामावली पार्टी हेडक्वाटरमा आएपछि उक्त निर्णय कार्यान्वयन गर्न गाह्रो भएको केन्द्रीय कार्यालय स्रोतले बताएको छ ।

असोजमा बसेको स्थायी समितिको बैठकले पार्टी केन्द्रमा २० प्रतिशत युवा ल्याउनु पर्ने निर्णय गरेको थियो । प्रवक्ता महरा भन्छन्, सोही नीतिगत निर्णयअनुसार अहिले युवाहरुलाई केन्द्रीय प्रतिनिधिका रुपमा पार्टीमा ल्याइएको हो ।

राष्ट्रिय सम्मेलनको मुखैमा युवा नेताहरु पार्टीको केन्द्रीय जिम्मेवारीसहित केन्द्रमा देखा परेपछि युवाहरुमा केही हौसाला थपिएको छ । त्योभन्दा पनि ठूलो कुरो त सबै पार्टीहरुमा उठिरहेको ‘युवामा नेतृत्व हस्तान्तरण’को आवाज माओवादी केन्द्रमा लिइएको यो पहलले मत्थर बनाउने देखिएको छ । कार्यनीतिक रुपमा सम्बोधन गरिएको यो विषयमा नेताहरुको बठ्याइँले काम गरेको छ ।