• चैत्र २४ २०८१, सोमबार

राप्रपाको अध्यक्ष्यमा उम्मेदवार थापा र लिङदेनलाई यी शीर्ष नेताको साथ

मंसिर १७ २०७८, शुक्रबार

काँडमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका कमल थापा र राजेन्द्र लिङदेनले निर्वाचनबाट छानिने पदाधिकारीका लागि बिहीबार आआफ्नो टिम घोषणा गरेका छन् ।

महाधिवेशनको दोस्रो दिन दुवै पक्षले पदाधिकारीको टिम घोषणा गरेका हुन् । राप्रपा नेता भुवन पाठकका अनुसार शुक्रबार बिहान उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ । उम्मेदवारी मनोनयन कार्यक्रम सकिएलगत्तै मतदान सुरु हुनेछ । उनका अनुसार मतदानमा विद्युतीय मेसिन प्रयोग गरिनेछ ।

थापाको टिममा उपाध्यक्षमा बुद्धिमान तामाङ, धु्रवहादुर प्रधान र महिलातर्फ रोशन कार्कीको नाम राखिएको छ । यसैगरी लिङदेन पक्षबाट उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र महिलातर्फ लिला श्रेष्ठलाई राखिएको छ । विक्रम पाण्डेलाई दुवै पक्षले उपाध्यक्षमा राखेका छन् ।

थापा पक्षका नेता तामाङले आफ्नो टिमबाट उपाध्यक्षमा पाण्डेलाई राखिएको जानकारी दिँदै भने, ‘सतप्रतिशत उहाँ हाम्रो टिमको हो । उहाँको नाम राखेर हामीले पोस्टरसमेत छापिसक्यौं ।’ लिङदेन पक्षका नेता धवलशमसेर राणाले पनि पाण्डे आफ्नो टिमबाट उपाध्यक्षको उम्मेदवार भएको दाबी गरे ।

‘कसले के भन्छन्, त्यो बेग्लै कुरा हो तर उहाँ हाम्रोतर्फबाट उपाध्यक्षको उम्मेदवार हो’, उनले भने । यसबारे सम्पर्क गर्न खोज्दा पाण्डे सम्पर्कमा आएनन् । उनले आफू बैठकमा व्यस्त भएको जानकारी पठाए ।

थापा पक्षले महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीलाई राखेको छ । यसैगरी लिङदेन समूहले महामन्त्रीमा राणा,श्याम तिमिल्सना र रेखा थापालाई उम्मेदवार बनाउने भएको छ । नायिका समेत रहेकी थापाले आफ्नो प्रचारप्रसार सुरु गरेकी छन् ।

राप्रपाको विधानमा निर्वाचनबाट ४ जना उपाध्यक्ष र ३ जना महामन्त्री चयन गर्ने व्यवस्था छ । तीनजना महामन्त्रीमध्ये एक महिला हुनुपर्ने विधानको व्यवस्था छ । १९९ सदस्यीय केन्द्रीय समितिका लागि १ सय ४९ जना निर्वाचनबाट चुनिने र ५० जना मनोनीत हुने विधानमा छ ।

एकता महाधिवेशनपछि राप्रपामा एकजना मात्र अध्यक्ष रहनेछन् । हालका तीन अध्यक्षमध्ये पशुपतिशमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्वका लागि उम्मेदवारी नदिने भएका छन् । अर्का अध्यक्ष थापाले भने सो पदमा उम्मेदवारी घोषणा गरी आफ्नो टिम बनाएका छन् । लोहनीले लिङदेनलाई समर्थन गरेका छन् भने राणा अझै कतै खुलेका छैनन् ।

राणाले राप्रपामा एकता कायम राख्न आफूले उम्मेदवारी नदिने बताएका छन् । लिङदेन पक्षका कार्यकर्ताले पूर्वराजा ज्ञानेन्द्रको समर्थन रहेको भन्दै प्रचारप्रसार सुरु गरेका छन् । यसबारेमा पूर्वराजा निकट आधिकारिक व्यक्तिहरू भने केही बोलेका छैनन् ।

महाविधेशनमा देशभरबाट ४ हजार ७ सय प्रतिनिधि सहभागी छन् । प्रदेश २ बाट एक हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि छन् । त्यसैले प्रदेश २ का प्रतिनिधि नयाँ नेतृत्वका लागि निर्णायक हुने दुवै पक्षको विश्लेषण छ ।

अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्न १ लाख, उपाध्यक्षमा ७५ हजार, महामन्त्रीमा ५० हजार र केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्न १५ हजार रूपैयाँ शुल्क तोकिएको छ ।

राप्रपा अध्यक्ष थापाले बिहीबार बन्दसत्रमा पेस गरेको राजनीतिक प्रतिवेदनमा संसद्को परिधि र नियन्त्रणअन्तर्गत राष्ट्रिय र सांस्कृतिक एकताको प्रतीकको रूपमा संवैधानिक राजतन्त्रलाई अंगीकार गर्ने उल्लेख छ । राप्रपाले हिन्दु राष्ट्रलाई पनि मूल अजेन्डा बनाएको छ । यो समाचार नागरिक दैनिकमा छ ।