• चैत्र २४ २०८१, सोमबार

राप्रपा महाधिवेशन : उम्मेदवारी दर्ता आज, निर्वाचन भोलि

मंसिर १७ २०७८, शुक्रबार

काठमाडौं । संघीय राजधानीमा बुधबारदेखि आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता आज (शुक्रबार) हुने भएको छ । राप्रपा महाधिवेशनका निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अध्यक्ष पदमा उम्मेदवारी दिनेले १ लाख रुपैयाँ दरखास्त दस्तुत तिर्नुपर्नेछ ।

त्यस्तै केन्द्रीय उपाध्यक्षका उम्मेदवारले ७५ हजार, महामन्त्रीका उम्मेदवारले ५० हजार, केन्द्रीय सदस्यका उम्मेदवारले १५ हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ । पार्टीको निर्णयानुसार केन्द्रीय निर्वाचन समितिले तोकेको शुल्क लिएर मात्र उम्मेदवारी दर्ता गर्नेछ ।

महाधिवेशन स्रोत व्यवस्थापन समितिका एक सदस्यका अनुसार उम्मेदवारी दर्ताबाट मात्रै पार्टीले कम्तीमा ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । राप्रपा अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

महाधिवेशनले राप्रपाको १ सय ९४ जना केन्द्रीय कार्यसमिति चयन गर्नेछ । गत बुधबार उद्घाटन गरिएको राप्रपा महाधिवेशनमा प्रतिनिधिको सूचीाबारे विवाद भएपछि निर्वाचन प्रक्रिया बिहीबार साँझ मात्र सुरु भएको हो । जसले गर्दा मतदानका लागि तोकिएको मिति आज (शुक्रबार) उम्मेदवारी दर्ता र चुनाव शनिबार हुने भएको छ ।