काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा अनुभूत हुने गरी सेवा सुविधामा समान पहुँच स्थापित गर्न जोड दिएकी छिन् ।
संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयनमार्फत शिक्षा, स्वास्थ्य, रोजगारीलगायत राज्यबाट प्रदान गरिने सार्वजनिक सेवा, सुविधा र अवसरमा समान पहुँच स्थापित गर्न जोड दिएकी हुन् ।
अपाङ्गता भएका व्यक्तिहरूको ३०औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अन्य नागरिक सरह राज्यका निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको स्मरण गराएकी छिन् ।
संवैधानिक प्रावधानको कार्यान्वयनका लागि नेपाल सरकारले आवश्यक कानुन तथा नियमावलीको समेत तर्जुमा गरिसकेको छ । राष्ट्रपतिको सन्देशमा विद्यमान कानुन र नीतिको कार्यान्वयनका लागि राज्यले आफ्नो क्षमता विकास गर्न आग्रह गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवद्र्धन तथा उनीहरूको समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई ‘ अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’का रूपमा विश्वभर मनाउने गरिएको छ ।