काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारीको सुरक्षा गार्डको हत्यामा संलग्न दुईजनालाई केन्द्रीय अनुुसन्धान ब्यूरोले पक्राउ गरेको छ । गौरीशंकर गाउँपालिका–१ घर भएका २७ वर्षीय विक्रम कार्की र २० वर्षीय सुमन कार्कीलाई बिहीबार पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डीआईजी धीरजप्रताप सिंहले बताए ।
सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको कार्तिक १० मा हत्या भएको थियो । कार्तिक ११ मा सहकारीबाट ४ सय मिटर पर चिहानडाँडा स्थित जंगलमा उनको शव फेला परेको थियो । विक्रम कार्की र सुमन कार्कीले कार्तिक १० मा राति काठमाडौंबाट गएर सुरक्षागार्डको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
हत्यापछि सहकारीबाट १ लाख ८५ हजार ७ सय ८० रुपैयाँ लुटेर उनीहरु जिल्ला सदरमुकाममा चरिकोट फर्केका थिए । साँझ ६ बजेर ३० मिनेटमा खाना खाएर सहकारीको सुरक्षा गर्न गएका पूर्णबहादुर खड्कालाई आरोपी मध्येका सुमनले ‘मामा’ भन्ने गरेका थिए । काठमाडौंबाट त्यसैदिन गाडी चढेर गएका उनीहरु राति जुँगु पुगे । सहकारीमा गएर सुमनले सुरक्षागार्डलाई भने–‘काठमाडौंबाट आएको मेरो साथी बेहोस भएर ढलेको छ, हिँड्नुस् न ।’
सुमनको कुरा मानेर खड्का सहकारीबाट ४ सय मिटर पर जंगलमा गए । जंगलमा विक्रम लुकेर बसेका थिए । त्यहिँ उनीहरुले सुरक्षागार्डको हत्या गरे ।
‘हात, खुट्टामा डोरी र मुखमा खादाले बाँधेर हत्या गरेको देखिन्छ’ अनुसन्धानमा संलग्न केन्द्रिय अनुसन्धान ब्यूरोका एक अधिकृतले भने–‘हातखुट्टा बाँधेपछि ढुंगाले टाउकोमा हिर्काएर बाटोमुनि फालेको आरोपीहरुले स्वीकारेका छन् ।’
मृतकको टाउको र निधारमा चोट लागेको अवस्थामा शव फेला परेको थियो । हत्यापछि आरोपीहरु ३ घण्टा पैदल हिँडेर सदरमुकाम चरिकोट आए । कार्तिक ११ मा चरिकोटबाट गाडी चढेर काठमाडौं फर्किए ।
हत्या गरेको रात उनीहरु गाउँ गएको कसैले थाहा पाएनन् । आरोपबाट बच्न काठमाडौं आएपछि उनीहरु मुस्ताङ घुम्न गएको ब्यूरोका डीआईजी धीरजप्रताप सिंहले बताए । सीआईबीले विक्रमलाई काठमाडौंको तीनकुनेबाट र सुमनलाई चुच्चेपाटीबाट पक्रेर थप अनुसन्धानका लागि दोलखा पठाएको छ ।
पैसा लुट्न सुरक्षागार्डको हत्या गरेका विक्रम काठमाडौंमा प्लम्बरको काम गर्छन् । सुमन काठमाडौंमा पढ्दैन्। प्रहरीले अरोपीहरुको साथबाट मृतकको मोबाइल बरामद गरेको छ ।