• मंसिर १३ २०८१, बिहीबार

हलेसी मन्दिरमा उठ्यो १२ लाख भेटी

मंसिर १६ २०७८, बिहीबार

काठमाडौँ । प्रसिद्ध त्रिधार्मिक धाम हलेसीबाट चार महिनाको अवधिमा १२ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । गत साउन १ गतेदेखि मङ्सिर ५ गतेसम्मको अवधिमा हलेसी दर्शन तथा पूजाआजा गर्न आउने दर्शनार्थीबाट १२ लाख ८० रुपैयाँ भेटी रकम संकलन भएको हो ।

महादेव मन्दिरको शिव पार्वती थानमा आठ लाख ८४ हजार ५३० रुपैयाँ, मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट एक लाख ९८ हजार ८५५ रुपैयाँ, बसाहा गुफा दान पेटिकाबाट ८२ हजार १७० रुपैयाँ र गणेश मन्दिर दान पेटिकाबाट ३४ हजार ५२५ रुपैयाँ भेटी रकम सङ्कलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।

उनले भने, ‘कोरोना भाइरसको सङ्क्रमण कम भएसँगै खुला गरिएको हलेसी मन्दिरमा अहिले दर्शनार्थी तथा भक्तजनको भीड लाग्ने गरेको छ ।’ संकलन भएका भेटी रकममध्ये पाँच लाख ३२ हजार १४ रुपैयाँ खर्च गरेर बाँकी रहेको ६ लाख ६८ हजार ६६ रुपैयाँ माछापुच्छ्रे बैंकको हलेसी शाखामा जम्मा गरिएको सूचना केन्द्रले जनाएको छ ।

यस अवधिमा भारु तीन हजार ९३५, चाँदी ६१।७ ग्राम, सुन ०.७ ग्राम र अमेरिकन डलर तीन जम्मा भएको जनाइएको छ । मन्दिरबाट सङ्कलन भएको भेटिबाट मन्दिर वरिपरी, दिव्यध्वनी, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिरभित्र रेलिङ रंगरोगन, बसाहा थान धाराको ढल निकास, भेटी गणना, अतिथि खाजा, खानेपानीका लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोग लगायतमा खर्च भएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिए ।