• चैत्र २४ २०८१, सोमबार

एकैसाथ तीनवटा मौसमी प्रणालीको प्रभाव : वर्षासँगै भारी हिमपातको सम्भावना

मंसिर १६ २०७८, बिहीबार

काठमाडौं । देशभर आजको मौसम सामान्यदेखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

यी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

अहिले बिहान पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले उल्लेख गरेको छ ।

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने पूर्वानुमान गरिएको छ । हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ ।