• असार १७ २०८१, आईतवार

यसरी हट्यो बार्बाडोसमा बेलायतको उपनिवेश

मंसिर १५ २०७८, बुधबार

काठमाडौँ । गएको सोमबार र मंगलबार संसारको राजनैतिक रंगमंचमा एउटा अर्को घटना परिघटित भयो । क्यारेबियन सागरको छेउमा रहेको सानो टापु देश बार्बाडोसमा दुई दिनसम्म धुमधामका साथ देशभरि पिटी परेडका साथै विभिन्न झाँकीहरु प्रस्तुत गरिए । पुरै देशमा खुसियालीका साथ आजसम्म कहिल्यै मनाउन नपाएको तर आजै पाएको जस्तो गरेर बार्बाडोसियाली जनताले धुमधामका साथ एउटा अनौठो दिवस मनाए ।

आकासमा उड्ने पंछीले आफ्नो पखेटा पाएर स्वतन्त्र भएर पखेटा फटफटाए झैं पुरै जनता घर बाहिर आएर देशभर यसरी दुई दिनसम्म यस्तो दिवस मनाउनु पर्ने त्यहाँका जनतालाई कारण पनि त्यस्तै खुसीको नै रहेको थियो । देशमा मानिंदै आएको बेलायतको राजतन्त्रलाई विदा गरेर बार्बाडोसलाई स्वतन्त्र गणतन्त्र देश घोषणा गर्नुपूर्व त्यहाँका जनताले दुई दिनसम्म यस्तो दिवस मनाएका हुन् ।

सदियौंदेखि बेलायतको उपनिवेश रहेको क्यारेबियन सागरको छेउमा अवस्थित सुन्दर टापु देश बार्बाडोस सन् १९६६ मा बेलायतको उपनिवेशबाट मुक्त भएको भएपनि हिजोसम्म बेलायतकी महारानीलाई नै राष्ट्रप्रमुख तथा देशको संवैधानिक प्रमुख मान्दै आएको थियो । मंगलबार र सोमबार यसरी आजसम्म कहिल्यै नमनाएको दिवस मनाएर सो देशले आफूलाई साँच्चिकै स्वतन्त्र देश बनाएर आफूलाई संसारको सबैभन्दा कान्छो गणतन्त्र देश घोषणा गरेको हो ।

सो देश बेलायतको उपनिवेशबाट मुक्त हुनुभन्दा पहिले २०० वर्षसम्म बेलायतको उपनिवेश मात्र रहेन बेलायतले त्यहाँ सन् १८३४ सम्म दासप्रथा समेत कायम गरेको थियो । सो देश भएको भूगोल बेलायतको उपनिवेश कायम रहँदा दासहरुलाई किनबेच गर्ने थलोको रुपमा प्रयोग गरिएको थियो ।

यसरी त्याग्यो बार्बाडोसले बेलायतको उपनिवेश

माथि पनि भनियो कि, २ सय वर्षभन्दा बढी समय बार्बाडोस नामको टापु देश बेलायतको उपनिवेश रहेको थियो । सन् १९६६ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको यो देशले आजसम्म देशको राष्ट्र प्रमुख तथा संवैधानिक प्रमुख भनेर बेलायतकी महारानीलाई नै मान्दै आएको थियो । बेलायतकी महारानीलाई देशको राष्ट्रप्रमुख मान्दै आएको हुनाले आजसम्म सो देशलाई राजतन्त्रात्मक मुलुक मानिंदै आएको थियो ।

तर सो देशले गत अक्टुबर महिनामा भएको चुनावमा देशको राष्ट्रपतिको रुपमा डेम साण्ड्रा मेशनलाई चुनेको थियो । त्यहाँको संसदले मेसनलाई देशको पहिलो राष्ट्रपति चुनेसँगै एक विशेष समारोह गरेर देशलाई गणतन्त्र घोषणा गरिने सो देशले बताउँदै आएको थियो । मंगलबार देशलाई गणतन्त्र घोषणा गरेर पहिलो राष्ट्रपतिको रुपमा डेम साण्ड्रा मेसन नामकी ७२ वर्षिया एक महिलाले सपथ लिएसँगै बार्बाडोस अहिलेसम्मको संसारमा कान्छो गणतन्त्र देश बनेको हो । अब उपरान्त देशले आफ्नै राष्ट्रपति पाएको छ । मेसन यो भन्दा पहिले बेलायतकी महारानीकि प्रतिनिधिको रुपमा बार्बाडोसकी गभर्नर रहँदै आएकी थिइन् ।

महिला प्रधानमन्त्री र महिला नै राष्ट्रपतिसँगै भएको देश

आफूलाई बढी स्वतन्त्र बनाएर आफ्नै राष्ट्रप्रमुखको रुपमा ७२ वर्षीया डेम साण्ड्रा मेसनलाई राष्ट्रपति बनाएको बार्बाडोस देशमा हाल प्रधानमन्त्री पनि महिला नै रहेकी छिन् । योसँगै सो देश राष्ट्र प्रमुख र सरकार प्रमुख दुइटै पदमा महिला आसिन भएको देश बनेको छ । त्यहाँ अहिले प्रधानमन्त्रीको रुपमा ५७ वर्षीया महिला मियाँ मोट्टे कार्यरत रहेकी छिन् । सन् १९६६ मा बेलायतबाट स्वतन्त्र भएपनि गत ५७ वर्षदेखि सो देशले बेलायतकी महारानीलाई नै राष्ट्रप्रमुख मान्दै आएको थियो । हाल २ लाख ८० हजार मात्रै जनसंख्या भएको मानिने यो देशको क्षेत्रफल ४३९ वर्गकिलोमिटर रहेको छ । ऊखु खेति र पर्यटन यो देशको प्रमुख आम्दानीको स्रोत हो ।

सम्मान गरेर बिदाई गरियो बेलायती राजतन्त्रलाई

एक विशेष समारोहका बीच देशलाई गणतन्त्र घोषणा गरिने समारोहमा प्रमुख अतिथिको रुपमा बेलायती राजकुमार प्रिन्स अफ वेल्सले सम्बोधन गरेका थिए । राजधानी शहर ब्रिजटाउनमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रिन्स अफ वेल्सले दुई देशको सम्बन्ध सदा रहिरहने कुरामा विश्वास व्यक्त गरे । देशलाई गणतन्त्र घोषणा गर्दै प्रधामन्त्री मियाँ मोट्टेले राजकुमार प्रिन्स अफ वेल्सलाई देशको आजसम्मको सबैभन्दा ठूलो सम्मान ‘अर्डर अफ फ्रिडम अफ बार्बाडोस’बाट सम्मानित गरिन् ।

बेलायतको राजतन्त्रलाई धन्यवाद दिंदै राजकुमारलाई सम्मान गरिसकेपछि राष्ट्रपति हाउसमा आधिकारिक रुपमा शक्ति हस्तान्तरणको संकेत स्वरुप बेलायती राजतन्त्रलाई अन्तिम सलामी दिइयो । त्यसरी बेलायती राजतन्त्रलाई अन्तिम सलामी दिइसकेपछि राष्ट्रपति कार्यालयमा बेलायतको शाही झण्डा हटाएर बार्बाडोसको राष्ट्रय झण्डा फहराइयो । राष्ट्रपति हाउसमा देशको झण्डा फहराइएसँगै लामो समयसम्म त्यहाँ खुसियालीमा ताली बजिरह्यो ।