• मंसिर १३ २०८१, बिहीबार

अति जरुरी कामबाहेक विदेश भ्रमण नगर्न सरकारको आग्रह

मंसिर १५ २०७८, बुधबार

काठमाडौं । विश्वमा कोभिड–१९ को नयाँ उत्परिवर्तन ओमिक्रोनको बिगबिगी हुनथाले पछि अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजान सरकारले नेपाली नागरिकलाई सचेत बनाएको छ । कोरोना महामारी कम भएको भन्दै विदेश भ्रमण तथा बिजनेसका कामहरु लिएर मानिस बाहिरफेर निस्कन थालेपछि सरकारले सतर्क गराउन थालेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले सरकारी निर्णय सार्वजनिक गर्दै बुधबार एक प्रेस विज्ञप्ति जारी गरेपछि उक्त कुरा प्रकाशमा आएको हो । विज्ञप्तिमा ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।

जारी विज्ञप्तिमा हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा भने फेला परिनसकेको भन्दै डा. अधिकारीले यो भेरियन्ट भित्रिनबाट रोक्नका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई सरकारले फराकिलो बनाउँदै लगेको पनि बताइएको छ ।